पश्चिम म्याग्दीको‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडक अन्तरगत पर्ने बेनी नगरपालिका-४,र मंगला गाउँपालिका–२,सिमानामा रहेको फापरखेतमा पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ ।

बेनी–पखेर र सिमलचौर–दरबाङसम्म ट्याक्सी, बस र अन्य यातायातका साधनमा मनपरी भाडा लिएको यात्रुले गुनासो गरेका छन् ।अवरुद्ध भएको सडकखण्डमा चल्ने ट्याक्सी, इको भ्यान, बोलेरो, जिप लगायतका सवारीसाधनको भाडा दर फरक–फरक रहेकाले यात्रु ठगिने गरेको यात्रु साजन चोचाङ्घीले बताए ।

‘यात्रुले पदैलहिडेको पनि यातायात ब्यवसायीले भाडामै असुल्ने गरेका छन्,दैनिकजसो यात्रु ठगिने गरेपनि सुनुवाइ भएको छैन’ चोचाङ्घीले भने ।उनले दरबाङबाट सिमलचौरसम्म आएको ४ सय र तातोपानीबाट बेनीसम्म आएको २ सय रुपैयाँ भाडा तिरेको बताए ।

सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सडक अवरुद्ध भएको बाहनामा यातायात ब्यवसायीले मनपरी भाडा लिने गरेको बताउँदै साविककै भाडा लिने वातावरण बनाउन समेत यात्रुले अनुरोध गरेका छन् ।

फापरखेतसम्म आएर पदैलयात्रा गर्न नसक्ने अवस्थामा अहिले पखेरबाट यात्रु गन्तब्यतर्फ जाने गरेका छन् ।तेलको मूल्य दिन प्रतिदिन बढिरहेकाले न्यूनतम भाडा बढाएर लिएको याताायात ब्यवसायीको भनाई छ ।

यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले तोकिएको भन्दा बढी भाडा लिएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन वा ट्राफिक कार्यालयमा समेत जानकारी दिन यात्रुलाई अनुरोध गरेका छन् ।

उनले गुनासो आएकाले तत्कालै तातोपानीको प्रहरी र ट्राफिकलाई पठाउने बताए । पश्चिम म्याग्दीका ग्रामिण क्षेत्रमा रातो नम्बर प्लेटका सवारीसाधनले समेत बाढीपहिरोको बाहनामा सिट क्षमताभन्दा बढी यात्रु बोकेर गन्तब्यतर्फ जाने गरेका छन्। बर्खाको समयमा ग्रामिण क्षेत्रमा ट्राफिक प्रहरीको चेकजाँच नहुदाँ यातायात ब्यवसायीले मनपरी गर्ने गरेका छन् ।

Leave a Reply