पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडक पहिरोले अवरुद्ध भएको १० दिनपछि पुनः सञ्चालनमा आएको छ । सडकखण्डको पहिरो पन्छाएर आइतबारदेखि सडक नियमित रुपमा सञ्चालन गरिएको हो । सडकखण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेतमा खसेको पहिरो हटाएपछि सवारीसाधन वारपार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘सडकखण्डमा जोखिम टरेको छैन, बर्षात र साँझविहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छौ, पहिरोले अवरुद्ध हुदाँ वित्तिकै पन्छाउने प्रयास गरेपनि नरोकिएपछि केहीदिन अवरुद्ध भएको थियो’ प्रजिअ ढकालले भने । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तह र पूर्वाधार कार्यालय, निर्माण व्यवसायीसँगै प्रदेश र संघीय सांसदले समेत सक्रियता देखाएका थिए ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अर्कोपटक यात्रुलाई सास्ती नहुने गरी काम गर्न सम्बन्धित निकायमा समेत अनुरोध गरिएको बताए ।

गएको असार २८ गतेदेखि सडक सञ्चालनमा नआउँदा यात्रुले पखेर, बरंजा हुदै यात्रा गर्ने गरेका थिए । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको थियो।

सडकदेखि करिब २ सय मिटरमाथि र डेढ सय मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ। २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकको सबैभन्दा संवेदनशील र पहिरोका कारण यात्रुले दैनिक सास्ती खेप्नुपरेको भन्दै बैकल्पिक सडकको स्तरोन्नती र बेलिब्रिजको काम हुन सकेको छैन । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौति मानिन्छ ।

Leave a Reply