प्राकृतिक चिकित्सालयको रुपमा ख्याती कमाएको म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ शुभारम्भ गरिएको छ । साउन महिनाको पहिलो सोमबार भब्य समारोहका बिच म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गदैं भक्तजनहरूमा आध्यात्मिक शान्ति र आनन्द महसुससँगै धार्मिक आस्थाको समेत संरक्षण हुने बताए ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले तातोपानी कुण्ड क्षेत्रको विकासका नगरपालिकाले प्राथमिकताका साथ सहयोग गरेको बताउँदै कमीकमजोरी सुधार सहितको योजनामा जोड दिए । कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, एनआरएनए न्यूजिरल्याण्डका अध्यक्ष लालबहादुर केसी, विश्व हिन्दु महासंघ सहित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी अब प्रत्येक हप्ताको सोमबार ‘सन्ध्याकालीन आरती’ हुने र पहिलो दिनको उद्घाटन निकै भब्य भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

उनले तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको बताए । प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै आरतीले तातोपानीको गौरव थपेको अध्यक्ष खड्काको भनाई छ । तातोपानीमा आरतीमा श्रवण तथा महादीप सहित धार्मिक कार्यमा समेत प्रत्यक्ष सहभागि हुन पाइने कुण्डका सचिव कुमार केसीको भनाई छ ।

प्रत्येक सोमबार साँझ करिब दुई घण्टा आरतीसँगै भजनका सहभागि हुन पाइने छ । भगवान शिवकोको पुजा आरधना गदैं १ सय ८ दीप प्रज्ज्वलन, महाआरतीसहितको विशेष पूजा गर्ने सुविधाले स्नान गर्न आउने बिरामी उत्साहित भएका छन्। आरतीका लागि ३ जना कन्या सहित ६ जनालाई आरती बाचक रमेश खड्काले प्रशिक्षण दिएका थिए । हिन्दु धर्ममा आरती पूजाअर्चनाको एउटा विधि हो। बलिरहेका आरतीका थाली आराध्यसमक्ष एक विशेष विधिले घुमाउने गरिन्छ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ४५ डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि बर्षेनी २० हजारको हाराहारीमा आउने गरेका छन् । पानीमा डुबुल्की मार्नेको छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने जनविश्वास छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने तातोपानीको ‘सन्ध्याकालीन आरती’ले आन्तरिक पर्यटक समेत बढ्ने अनुमान गरिएको छ ।

Leave a Reply