म्याग्दीको मंगला गाउँपालिका–१,दिपशिखा माविमा विगत तीनसातादेखि नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जिनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । यसअघि कहिल्यै पनि यस्तो तालिममा सहभागि नभएका विद्यार्थीले अहिले आत्मरक्षा,स्वंयमसेवा,नेतृत्व क्षमता,इमान्दारीसँगै समाजप्रतिको जिम्मेबारीका बारेमा धेरै सिक्ने अवसर पाएका छन् ।

नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीको संयोजनमा सुरू भएको तालिममा विद्यार्थीले शारीरिकका साथै एरोबिक्स, तेक्वान्दो पिटी, मास पिटी, सैनिक ज्ञान, ड्रिल, खुकुरी ड्रिल, एफसी–बिसी, नक्सा अध्ययन, विपद् व्यवस्थापन र जुनियर डिभिजन तालिमको महत्वका बारेमा सिकिरहेको कक्षा ९ मा अध्ययनरत नाइल पुर्जाको भनाई छ ।

Adv

यसअगाडी आत्मरक्षा तालिमका बारेमा सामान्य जानकारी भएपनि तालिम लिने अवसर नपाएकी कक्षा ९ मा अध्ययनरत रिया रोका र दिया पुनले अहिले आत्मरक्षा गर्ने विषयमा धेरै जानकारी बताउँदै नेपाली सेनाको तालिम हरेक दिन कठिन भएपनि सेवामुलक कार्यसँगै आत्मरक्षामा तालिमको प्रयोग गर्न सकिने धेरै उपाय सिकेपछि अबका दिनमा सहज हुने उनीहरूको विश्वास छ ।

तालिमलाई नजिकबाट हेरिरहेका मंगला गाउँपालिका वडा नं १ कुहुँका निर्वतमान वडा अध्यक्ष डेकबहादुर राम्जालीले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा मात्र नभएर रचनात्मक गुण अभिवृद्धि, ग्रामिण परिवेशको महत्व, सहयोगको भावना,सामूहिक सहकार्यको विकासमा पनि मद्दत पुर्याएको बताउँछन् ।

तालिममा सहभागि विद्यार्थीको विहान उठ्ने, घरायसी काम, पढाइ सहित अन्य दैनिकीमा समेत परिवर्तन देखिएको विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले बताउनुभयो । तालिममा सहभागि भएका विद्यार्थीबाट भविस्यमा नियमित अभ्यास सहितका कार्यहरुमा सहभागि बनाउने र गाउँमा विद्यार्थीको सामाजिक कामको स्थानीय समुदायले निकै प्रशंसा गर्ने वातावरण बनाउने विद्यालयको तयारी छ ।

७९ दिनसम्म सञ्चालन हुने तालिममा जनकल्याण माविमा अध्ययनरत छात्र १८ र छात्रा १८ जना गरी कुल ३६ जना विद्यार्थीहरु सहभागी भएका छन् । उनीहरुलाई विद्यालयमा आधारभूत तहको तालिम दिएपछि नवलपरासीको हात्तीखोरमा लगेर थप २१ दिनको तालिम दिइनेछ ।

२१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिने छ । म्याग्दीमा पछिल्लो समय ग्रामिण क्षेत्रका विद्यार्थीले यो तालिममा सहभागि हुने अवसर पाएका छन् । विद्यालयमा हुने यस्ता तालिमले विद्यार्थीलाई अनुशासित मात्रै बनाउँदैन, राष्ट्रप्रति समर्पित, आत्मरक्षा देखि दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा पनि सघाउने छ ।

Leave a Reply