म्याग्दीबाट १४ महिनाको अवधिमा ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । २०८० सालको जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐन र नागरिकता नियमावली अनुसार सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । एनआरएन नागरिकता प्राप्त व्यक्तिले राजनीतिक अधिकार बाहेक वंशजको नागरिकतामा हुने सबै अधिकार प्राप्त गर्न पाउने प्रावधान छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले कात्तिक १७ गतेदेखि गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेकोमा साउनको पहिलो सातासम्म म्याग्दी स्थाई घर भई लामो समयसम्म विदेशमा रहँदै आएका ३५ जनाले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । “हिमाल आरोही निर्मल पुर्जालगायत ३५ जनाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको छ” जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले भन्नुभयो ।

म्याग्दीबाट पहिलो अस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई नागरिकता प्रदान गरिएको थियो । सहायक प्रजिअ पन्तका अनुसार पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लालबहादुर केसीले बिहीबार गैर–आवासीय नेपाली नागरिकता लिनुभएको छ ।

नागरिकता सम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका पूर्व नेपाली नागरिकता, बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको वडाको सिफारिस र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूूचना जारी गरेको छ । गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply