---Advertisement---

सन्दीपविरुद्ध पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय, आफूमाथि बलात्कार नै नभएको खुलासा

On: July 26, 2024 5:54 PM
Follow Us:

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । गौशाला–२६ ले केही दिनअघि उक्त मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गर्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएको बताइएको छ ।उनले निवेदनमा आफूमाथि बलात्कार नै नभएको र संस्थाको दवाबमा परेर सन्दीपविरुद्ध जाहेरी दिएको उल्लेख गरेकी छन् ।सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।

हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ ।

सम्मानित अदालतको फैसलामा लिएका आधारहरूलाई सम्मान गर्दै शान्तिपूर्ण जीवन बाँच्नु मेरो प्राथमिकतामा रहेकाले प्रस्तुत मुद्दाको कारबाही थप अगाडि नबढाउन आग्रह गर्छु ।’

गौशाला २६ ले हालेको बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषि ठहर गरेको थियो । तर, सो फैसला उल्टाउँदै उच्च अदालतले सफाइ दिएको छ । गौशाला २६ ले चाहेमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्छिन् ।

फैसलाको पूर्णपाठ बुझेको ७० दिनभित्र पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ । गौशालाले आफ्नो निवेदनमा फैसलाको पूर्णपाठ आफूले अध्ययन गरिसकेको बताएकी छन् ।