म्याग्दीको सदरमुकाम बेनीबजारस्थित प्रकाश माविले १७ बर्ष अगाडी सम्पन्न भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा दान घोषणा गरेकाहरूबाट उठाउन बाँकी रहेकालाई बक्यौता रकम उठाउन ताकेता गरेको छ ।

विद्यालयमा विज्ञान सहितको कक्षा ११ र १२ सञ्चालन गर्न र बेनी स्थित श्री लक्ष्मी नारायण मन्दिर सहित मठमन्दिरहरूको सहयोगार्थ २०६४ फागुन २३ गतेदेखि चैत १ गतेसम्म महायज्ञ सम्पन्न भएकोमा पटकपटक अनुरोध गर्दा समेत दाताबाट प्राप्त हुन बाँकी रकम उपलब्ध गराउन दातालाई सार्वजनिक सूचना तथा पत्रचार गर्ने निर्णय गरिएको विद्यालयका प्रअ लेख बहादुर हमालले बताउनुभयो ।

‘दाताहरूलाई प्रतिबद्धता गरेको आर्थिक उपलब्ध गराउन अनुरोध गर्दछौ, विद्यालयमा तपाईहरुको अझै साथ र सहयोग आवश्यक छ’ प्रअ हमालले भन्नुभयो ।

भेलामा तत्कालीन महायज्ञ कार्य सम्पादन समिति, विव्यस, शिअसंघ, आजिवन संरक्षक, आजिवन सल्लाहकार, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । भेलाले बाकि बक्यौता रहेका संघसंस्था र महानुभावहरुसंग रकम संकलन गर्न विद्यालयलाई जिम्मेवारी दिईएको विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

धौलागिरीमा विज्ञान तथा हाल माध्यामिक तहमा सर्वोत्कृष्ट नतिजा ल्याइरहेको विद्यालयले थप शैक्षिक गतिविधिका लागि महायज्ञको बक्यौता संकलन गरी प्रयोग गर्ने तथा अक्षय कोषलाई बृद्धि गर्ने लक्ष्य रहेको जनाएको छ ।

सहायक प्रअ विनय श्रेष्ठका अनुसार सम्पर्क गर्ने, पत्राचार गर्ने र घरदैलो गर्ने र बाकी रकम संकलन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उक्त भेला तथा अन्तर्क्रिरया विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, प्रअ लेख बहादुर हमालको स्वागत र सहायक प्रअ विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियोे । पछिल्ला केहीबर्ष यता म्याग्दीमा एसइइ नतिजामा जिल्लाको उत्कृष्ट, विज्ञान विषयमा धौलागिरी क्षेत्र तथा अतिरिक्त क्रियाकलाप र खेलकुद प्रतियोगितामा समेत प्रकाश माविले फड्को मारेको छ ।

Leave a Reply