वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढेसँगै म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेभन्दा राहदानी बनाउनेहरु धेरै भएका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जानेहरु बढेपछि नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको हो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरुमा नागरिकताको तुलनामा राहदानी लिनेहरुको संख्या धेरै छ । गएको आर्थिक वर्ष २०८०÷०८१ मा जिल्ला प्रशासन कार्यालयले कुल ५ हजार ९ सय ६८ वटा राहदानी सिफारिस गरेकोमा सामान्य ५ हजार ९ सय १३ र द्रुत सेवातर्फ ५५ वटा राहदानी रहेका छन् ।

सोही अवधिमा ५ हजार ७ सय ४६ वटा राहदानी वितरण गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । गतभन्दा अघिल्लो आर्थिक वर्ष ०७९÷८० मा कुल ७ हजार ४ सय ५७ ओटा राहदानी सिफारिस गरिएकोमा ७ हजार ४ सय ४७ साधारण तथा १० वटा दू्रत सेवाको सिफारिस गरिएको सहायक प्रजिअ पन्तले बताउनुभयो ।

गएको वर्षभन्दा अघिल्लो आवमा ६ हजार ८ सय ६६ वटा राहदानी वितरण गरिएको थियो । गतवर्ष ३ सय १९ वटा राहदानी वितरण गर्न बाँकी रहेका छन् । सामान्य राहदानीका लागि प्रति राहदानीवापत पाँचहजार रुपैयाँ राजश्व जिल्ला प्रशासन कार्यालयमा तिर्नुपर्ने हुन्छ भने द्रुत सेवाको राहदानी परराष्ट्र मन्त्रालयले जारी गर्ने हुँदा त्यसको राजश्व सोही मन्त्रालयमा प्रति राहदानी १० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ ।

अहिले पछिल्लो नयाँ व्यवस्थाअनुसार राहदानीको शुल्क बैङ्कमा जम्मा गरी त्यसको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाएर रसिद लिनुपर्ने रहेको छ । गतवर्ष कुल ९ हजार ६ सय ६२ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भएकोमा १ हजार १२ वटा राष्ट्रिय परिचयपत्र वितरण भएको छ । गतभन्दा अघिल्लो वर्षमा कुल १४ हजार १ सय ८७ वटा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भएको थियो ।

यसैगरी गएको वर्ष जिल्ला प्रशासन कार्यालय म्याग्दीले वंशजको आधारमा ५ हजार ५ सय ३२ वटा नयाँ नागरिकता जारी गरेको छ भने गतभन्दा अघिल्लो वर्षमा ६ हजार २ सय २४ वटा नागरिकता जारी भएको सहायक प्रजिअ पन्तले बताउनुभयो । त्यस्तै गतवर्ष नेपाली नागरिकताको प्रतिलिपि ३ हजार ४ सय ६२ वटा जारी गरिएकोमा अघिल्लो वर्षमा ३ हजार ४ सय २६ वटा जारी भएको थियो । गतवर्ष ३४ वटा गैरआवासीय नेपाली नागरिकता समेत जारी गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला वर्षहरुमा नागरिकताभन्दा पनि राहदानी लिनेहरु क्रमशः बढ्दै गएकोमा तीमध्ये अधिकांश कलेज उमेर समूहका रहेका छन् । वैदेशिक अध्ययन, रोजगारी, बसाइँसराइ, घुमफिरलगायत विभिन्न कारणले गर्दा नागरिकताको तुलनामा राहदानी लिनेको संख्या धेरै देखिएको छ ।

Leave a Reply