मानिसलाई गास, बास र कपाससँगै चाहिने चिज मनोरञ्जन र सौन्दर्य पनि हो । मानिस हरेक समयमा सुन्दर बन्न चाहन्छ । गास, बास र कपास आधारभूत आवश्यकता भए पनि त्यसपछि मनोरञ्जन, सुन्दरतालगायत आवश्यकताहरु पर्दछन् । मानिस सुन्दर बन्नका लागि अहिले व्युटीपार्लर तथा सैलुनमा जाने गरेको पाइन्छ ।

अहिले धेरै मानिसलाई आफ्नो पार्लरमार्फत सुन्दर बनाएकी म्याग्दीको बेनी नगरपालिका–७, हुलाकचोककी गंगा थापा कार्कीले व्यावसायिक व्युटीपार्लर पेशाबाटै मनग्य आम्दानी गर्न सफल बन्नुभएको छ । उहाँले आफ्नै घरमा व्युटीपार्लर व्यवसाय सञ्चालन गरेर धेरैभन्दा धेरै आम्दानी गर्नुभएको छ ।

यसअघि भाडामा व्युटीपार्लर व्यवसाय गर्नुभएकी उहाँले पछिल्लो दुई वर्षदेखि भने आफ्नै घरमा पार्लर सञ्चालनमा ल्याउनुभएको छ ।गाउँमा विवाह गरेर बजार झर्नुभएकी उहाँले सुरुमा बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गर्नुभयो । त्यसबेला उहाँको मासिक तलब जम्मा २३ सय रुपैयाँ मात्रै थियो ।

उहाँले सहकारीमा बजार प्रतिनिधिको कामसँगै बिहान र बेलुका कक्षा ७ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई दुई वर्षजति ट्युसन समेत पढाउनुभयो । त्यसपछि उहाँले पोखरा पुगेर १ वर्षसम्म व्युटीपार्लर सम्बन्धी विभिन्न तालिम लिनुभयो । त्यहाँ उहाँले चिनु गुरुङको गुरुङ व्युटीपार्लरमा प्रशिक्षक बबिता कार्कीमार्फत तालिम लिनुभएको थियो ।पोखरामा तालिम लिएर फर्किएपछि २०६८ साल माघ २८ गतेदेखि बेनीमा कार्कीले आफ्नै व्युटीपार्लर व्यवसाय सुरु गर्नुभयो।

सानैदेखि आफू सुन्दर बन्ने तीव्र चाहना रहेको उहाँमा अरुलाई पनि सुन्दर बनाउने इच्छा थियो । त्यही इच्छा पुरा गर्न आफूले पार्लर व्यवसाय रोजेको उहाँको भनाइ छ । व्युटीपार्लर व्यवसाय सञ्चालन गर्न र यसका लागि पहिला तालिम लिन आफ्नो श्रीमान प्रकाश कार्कीसँगको सल्लाहमा आफूले ठूलो साथ र सहयोग पाएको उहाँ बताउनुहुन्छ ।

तालिम लिएपछि सुरुमा उहाँले बेनीको न्यूरोडस्थित एक घरमा भाडामा पार्लर व्यवसाय सुरु गरेकोमा अहिले हुलाकचोकस्थित आफ्नै घरबाट पार्लरको सबै काम गर्नुहुन्छ ।

सुरुमा दुईलाख ५० हजार रुपैयाँ लगानी गर्नुभएकी कार्कीले अहिले सिजनमा दैनिक पार्लरबाट ५०÷६० हजार रुपैयाँदेखि माथि कमाई हुने बताउनुभयो । उहाँको पार्लरमा थे्रडिङ, फेसियल, हेयर कटिङ, मेकअप, दुलही श्रृङ्गार, हेयरस्टेट, हेयर प्रोटिन, हेयर केराटिन, कपालमा रङ्ग्याउने जस्ता सेवाहरु उपलब्ध छन् ।

साथै व्युटीपार्लर व्यवसायसँग सम्बन्धित तालिम पनि दिने गरेको उहाँले जानकारी दिनुभयो । पार्लर व्यवसाय सुरु गरेको १४ वर्षको अवधिमा करिब १० हजार जनालाई व्युटीपार्लरको तालिम दिएको उहाँले बताउनुभयो ।

एक दिनमा तीनवटा समूहमार्फत ५४ जनालाई तालिम दिनुभएएकी कार्कीले दुलही श्रृङ्गार गरेको न्यूनतम १० हजार रुपैयाँदेखि माथि, हेयर केराटिङ चारहजार, प्रोटिनको पाँचहजार, हेयरस्टेट गरेको तीन हजारदेखि माथि र मेकअप गरेको १५ सयदेखि माथि खर्च लाग्छ । दिनमा न्यूनतम १० हजार रुपैयाँ आम्दानी हुने व्युटीपार्लरमा उहाँले तीन जनालाई रोजगारी पनि दिनुभएको छ ।

सिटिईभिटीको सम्बन्धन प्राप्त कार्कीको व्युटीपार्लरमा पार्लरसम्बन्धी तालिम लिएका कतिपय प्रशिक्षार्थीहरु स्वदेशमा नै व्युटीपार्लर व्यवसाय सञ्चालन गरेका छन्भने कोही यही पेशा गर्न भन्दै विदेश गएका छन् । उहाँले हालै सिटिईभिटीमार्फत सञ्चालित व्युटीसियन लेभल–२ को परीक्षा समेत उत्तीर्ण गर्नुभएको छ । उहाँको पार्लरमा मेकअप सम्बन्धी एक्स्ट्रा कक्षा, एड्भान्स, डिप्लो, स्पेशल क्लास स्किन केयर जस्ता कोर्षहरु सिकाइन्छ ।

Leave a Reply