म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेशभित्र आइतबार यातायात बन्द भएकाले बाहिरी जिल्लाबाट भक्तजनहरुको संख्यामा भने कमी रहेको छ । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको छ । मन्दिरमा गलेश्वर आमा समुह, सामुदायिक प्रहरी सेवा केन्द्र, न्यू वेष्ट पोइन्ट आवासीय मावि, बेष्ट वन एजुकेशन एण्ड भिजा सर्भिसेस बेनी शाखाले निशुल्क खानेपानी वितरणका साथै सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी सहित विभिन्न संघसंस्थाले स्वयंमसेवकको भूमिका निर्वाह गरेका छन् ।

हरियो चुरा, हरियो तथा पहेलो वस्त्रमा सजिएका विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रविन्दु बन्दै जान थालेको छ। गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट पनि भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन्। मन्दिरभित्र शिव लगायतका भगवान्हरुको मूर्तिहरु राखिएको छ।

Leave a Reply