म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोबाका सुन्दर घाँस कुच्छे छहरा अर्थात मह आउने झरना प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा गुमनाम अवस्थामा छ । शान्त वातावरण र जंगलभित्र रहेको झरनासम्म पुग्ने ब्यवस्थित पदमार्ग समेत नहुदाँ सुन्दर झरना ओझेलमा परेको हो । मह आउने झरना र टाउका झरनामा अहिलेसम्म स्थानीय बाहेक बाहिरबाट पर्यटक पुग्न सकेका छैनन् ।

स्थानीयले घाँसदाउरा गर्न जाँदा निर्मित पदैलमार्ग बाहेक सरकारी निकायबाट पूर्वाधार विस्तारमा नजर नपुग्दा मनमोहक झरना ओझेलमा परेको स्थानीय यूवा बिकास पुनले बताउनुभयो । ‘झरना निकै सुन्दर छ, तीन खण्डमा बग्छ,झरनाको छहरामा पुग्न सकिँदैन’यूवा पुनले भन्नुभयो ।

उहाँका अनुसार घाँसदाउरा, भिर महको शिकार गर्न जानेहरूले झरना आसपासमा बस्ने गर्दछन् । झरना आसपासमा प्रसस्तै भिर मह पाइने भएकाले स्थानीयले मह आउने झरना नामकारण गरेका थिए ।

झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग राम्रो व्यवस्था भएमा आन्तरिक पर्यटकको चाप बढ्ने भएकाले निर्माण गर्ने योजना बनाइएको वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले बताउनुभयो ।

‘सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण आवश्यक छ, पर्यटकको रोजाइमा पर्ने भएकाले प्रचारप्रसारमा समेत विशेष प्राथमिकता दिनुपर्छ’ वडा अध्यक्ष गर्बुजाले भन्नुभयो । झरना आसपासका क्षेत्रमा हिउँद र बर्खा दुबै याममा पुग्न सकिन्छ ।

 

Leave a Reply