बेनी नगरपालिका–५ की ८१ वर्षीया लालकुमारी बानियाँ र उहाँका पति पूर्णबहादुर बानियाँ घरबाट निस्केर केही पर पुगेर चोकमा बस्नु भएको थियो । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारीहरू ०८१ साउन १२ गते त्यहीबाटो भएर आउँछन् भनेर कुरेर बस्नु भएको थियो । उहाँहरूले बाटैमा बैंकका कर्मचारी तथा वडाका प्रतिनिधिहरूलाई भेटेर आफ्नै घर नजिकै सामाजिक सुरक्षा भत्ता थाप्नुभयो ।

‘हामी घराँट निस्केर पर चोकाँ बस्या थ्यौं, भत्ता दिने मुन्छे आएर हाम्लाई भत्ता दिएर गए’– लालकुमारीले सुनाउनुभयो । सदरमुकामसम्म बैंक पुगेर भत्ताको पैसा निकालेर घर फर्कन पनि निकै सास्ती हुने ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकाहरूलाई गाउँटोलमै भत्ता वितरण गर्दा निकै सजिलो हुने गरेको उहाँको भनाइ छ । खुट्टा दुुख्छ, ढाड कम्मर दुखेर उभिएर हिँड्न मुस्कील हुन्छ, आँखा पनि कमजोर भइसकेको छ गाउँमै भत्ता दिन्छन् खुशी लाग्छ– लालकुमारीले भन्नुभयो ।

सामाजिक सुरक्षा भत्ता गाउँमै पाउँदा फुरुङ्ग जेष्ठनागरिक (1)

बेनी नगरपालिका–४ डाँडाखेत हुँदै पुलाचौर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने टोली त्यहीबाटो भएर जाँदै थियो । पूर्णबहादुर बानियाँ लगायतका १०÷१२ जनाको टोलीलाई प्रभु बैंकका कर्मचारीहरुले त्यही चोकमा आवश्यक प्रकृया पूरा गरेर सामाजिक सुरक्षा भत्ता बापतको रकम प्रदान गरेर मात्रै पुलाचौर पुगेको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्दा बानियाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरु हिँड्न कठिन हुन्छ अनि पुलाचौर पुग्न उकालो पर्ने भएकाले बेनीबाट आउने समयमा बाटैमा भत्ता दिएर माथि आउने व्यवस्था गर्ने गरेका छौं– उहाँले सुनाउनुभयो ।

सामाजिक सुरक्षा भत्ता गाउँमै पाउँदा फुरुङ्ग जेष्ठनागरिक (4)

पुलाचौरदेखि बेनी पुग्न एकातर्फी भाडा नै २ सय रुपियाँ लाग्ने, एक्लै सदरमुकाम पुगेर बैंकबाट पैसा झिकेर फर्कन पनि नसक्ने अवस्था हुने हुँदा सामाजिक सुरक्षा भत्ता निकाल्नकै लागि सरदर एक जनाको १ हजार रुपियाँ भन्दा धेरै खर्च हुने गर्दथ्यो । वडा कार्यालयमै भत्ता वितरण हुँदा झण्डै ४ लाख रुपियाँ वडाका नागरिकको खर्च बचत भएको वडा नं ५ का अध्यक्ष बानियाँको भनाइ छ ।

बेनी नगरपालिका–४ बदमखोरियाका रामबहादुर बिक बिहानैदेखि सिंगा स्थित वडा कार्यालयमा आइपुग्नु भएको थियो । ७० माथिको उमेर अनि कम देख्ने र सुन्ने पनि कम हुँदा उहाँलाई सकभर टाढा जान नपरे हुने भन्ने लाग्छ । तर पनि शनिबार उहाँ झण्डै ७ बजेदेखि नै बेनी नगरपालिका– ४ नम्बर वडा कार्यालय सिंगामा आइपुग्नु भएको थियो । आर्थिक वर्ष २०८०÷०८१ को अन्तिम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयमै हुने भएकाले उहाँ लगायत धेरै ज्येष्ठ नागरिकहरु त्यहाँ पुग्नु भएको थियो । वडा कार्यालयका दुई जना कर्मचारीहरू बिहानैदेखि सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नविकरणमा व्यस्त हुनुहुन्थ्यो ।

सामाजिक सुरक्षा भत्ता गाउँमै पाउँदा फुरुङ्ग जेष्ठनागरिक (6)

प्रभु बैंक लिमिटेडको बेनी शाखा प्रवन्धक विनोद केसीको नेतृत्वमा पुगेका चार जनाको टोलीले बिहान साढे ८ बजेदेखि बेलुकासम्म गरेर सिंगामा २ सय ८० जनालाई ३१ लाख रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभयो । जति सेवाग्राही सिंगा केन्द्रबाट सेवा लिनुपर्ने थियो सबै जनाले सेवा लिन आइपुग्नु भएन–प्रवन्धक केसीले भन्नुभयो । प्रभु बैैक बेनी शाखाले बेनी नगरपालिकाको ४ र ५ नम्बर वडामा सामाजिक सुरक्षाभत्ता वितरणको जिम्मेवारी पाएको हुनाले बैंकले सम्बन्धित क्षेत्रमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको उहाँको भनाइ छ ।

त्यस्तै बेनी नगरपालिका–५ पुलाचौरमा ३ सय ९० जनालाई ३९ लाख रुपियाँ वितरण गरेको प्रवन्धक केसीको भनाइ छ । बैंकले सिंगा र पुलाचौरमा गरेर ६ सय ७० जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply