म्याग्दीमा गएको आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर कुल आठसय ६० मेट्रिक टन हिउँदे आलु उत्पादन भएको छ । गत आवमा जिल्लाको विभिन्न स्थानमा लगाइएको खायन प्रजातिको हिउँदे आलु खेती मात्रै सो परिमाणमा उत्पादन गरिएको हो ।

गतवर्ष हिउँदको समयमा म्याग्दी जिल्लामा लगाइएको खायन प्रजातिको आलुतर्फ कुल आठसय ६० मेट्रिक टन अर्थात् ८५ हजार ५ सय केजी उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । सो परिमाणको हिसाब गर्दा गतवर्ष हिउँदे आलुतर्फ म्याग्दीका किसानहरुले दुई करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको खायन प्रजातिको आलु उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।

किसानले प्रतिकेजी ३० रुपैयाँको दरले हिउँदे आलु बिक्री तथा वितरण गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जिल्लामा ९ सय रोपनीको क्षेत्रफलको जमिनमा हिउँदे आलु लगाइएकोमा प्रति हेक्टर सरदर १९ मेट्रिक टन आलु उत्पादन भएको थियो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत कृषक समूह र कृषि सहकारीबाट जिल्लामा आलु खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो । हिउँदे आलु उत्पादन गर्न तथा प्रोत्साहनको लागि कार्यालयको तर्फदेखि ८० लाख रुपैयाँ बजेट लगानी भएको थियो ।

जिल्लामा हिउँदको समयमा उत्पादित आलु म्याग्दीसहित जिल्लाभन्दा बाहिर पनि निर्यात भएको छ । कृषि ज्ञान केन्द्रले ८० लाख रुपैयाँको लागतअन्तर्गत हिउँदे आलु खेतीका लागि किसानहरुलाई सिँचाइ गर्न पाइप, आलुको बिऊबिजन, विषादी, मललगायत सहयोग उपलब्ध गराएको थियो । यसका साथै ज्ञान केन्द्रले यान्त्रिकरणतर्फ (मिनीटेलर हलो) तथा आलुको बजारीकरण गर्नमा समेत सहयोग गरेको जनाएको छ । गतवर्ष हिउँदे आलु बेनी नगरपालिकाको २, ३, ४, ५ र १० नम्बर वडाअन्तर्गत ज्यामरुककोटको खबरा, भकिम्ली, सिङ्गा, पुलाचौरको मरुवा र पात्लेखेतमा लगाइएको थियो ।

यसैगरी धवलागिरि गाउँपालिका–४, मुदीको खाम्ला, खिबाङ र ५ नम्बर वडा मराङमा हिउँदे आलु खायन प्रजाति लगाइएको थियो । त्यस्तै म्याग्दी जिल्लामा हिउँदे आलु खायन प्रजातिसँगै सोही प्रजातिको वर्षे आलु पनि लगाइएको छ । बागलुङको निसीखोला, ढोरपाटन र लाम्मेलाबाट खायन प्रजाति आलुको बिऊ खरिद गरी किसानहरुलाई वितरण गरिएको थियो । वर्षे आलुतर्फ बेनी नगरपालिकाको ३ नम्बर वडा भकिम्लीको भकिम्ली, मुसुङडोले, भुकभुके र स्वर्गाश्रम क्षेत्रमा किसानहरुले लगाएका थिए ।

त्यसैगरी रघुगंगा गाउँपालिका–४ दग्नामको दर्मिजा, ६ पाखापानीको ठाडाखानी, अन्नपूर्ण–६ घारस्थित खिबाङ, मंगला–२ को हिदी, धवलागिरिको ४ मुदी र ७ नम्बर वडा ताकममा आलु खेती गरिएको थियो । पछिल्लो समय म्याग्दी जिल्ला आलु खेतीमा आत्मनिर्भर बन्दै जान थालेको छ । कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र विभिन्न संघसंस्थाको सहयोग पाएपछि जिल्लाका किसानहरु व्यावसायिक आलु खेतीतर्फ सक्रिय भएका छन् ।

आलुलाई तरकारीको राजा पनि भनेर चिनिन्छ । आलु तरकारीसँगै उसिनेर, अचार बनाएर, फिङ्गर चिप्स तथा फ्राईसहित विभिन्न परिकार बनाएर प्रयोग गर्ने गरिन्छ । आलु खेतीको बढावा दिन किसानहरुलाई अनुदानलगायत थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नसके जिल्लामा आयातीत आलुसहित अन्य तरकारीलाई पनि रोक्न सकिन्छ ।

Leave a Reply