पर्वतको जलजला गाउँपालिकाले लक्षित समुदायलाई घोषणा गरेको निःशुल्क एम्बुलेन्स सेवा गाउँपालिकाबासीले प्रयोग गर्न थालेका छन् । बिहिबार जलजला वडा नं ८ की सुत्केरी प्रमिला विश्वकर्मालाई गाउँपालिकाले घरबाटै धौलागिरी अस्पताल बागलुङसम्म निशुल्क सेवा दिएको छ ।

गत साता गाउँपालिकाले गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएकाहरूको लागि एम्बुलेन्स सेवा दिन घोषणा गरेसँग उत्साहित भएका स्थानीयबासीले सेवा प्रयोगमा समेत चासो देखाएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

‘घोषणापछि पहिलो निशुल्क सेवा दिएका छौ, सेवा लिनेबाट सुझाव लिएर थप ब्यवस्थित बनाउँछौ’ आचार्यले भन्नुभयो । सुत्केरी, गर्भवतीसँगै स्वास्थ्यकर्मी समेत एम्बुलेन्समै बसेर अस्पतालसम्म पुग्नुपर्ने र बिचमा समस्या आएमा तत्काल जानकारी दिने गरिएको छ ।

सबै वडाका गर्भवती र सुत्केरीलाई घरदेखि अस्पतालसम्म आउजाउ गर्नुपर्ने, स्थानीय स्वास्थ्य संस्थाको सिफारिसमा बाहिरी जिल्लाका अस्पतालमा आउजाउ गर्नुपर्ने, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आकस्मिक उपचारका लागि लैजानुपर्ने, घरमा आम्दानी गर्ने व्यक्ति नभएका विपन्न र गरिब तथा ‘क’ र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका गाउँपालिकावासीहरुले निःशुल्क एम्बुलेन्स सेवा पाउने सम्बन्धित वडाध्यक्षको सिफारिसमा सेवा प्राप्त गर्ने छन् ।

गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन समेत गरेको छ । दुर्गम बस्तीमा यातायातका साधानको अभावमा समस्यामा पर्ने सुत्केरी, गर्भवतीलाई गाउँपालिकाबाट दिइने यो सेवा बरदान सावित हुने छ ।

Leave a Reply