म्याग्दीको सदरमुकाम बेनी बजार नजिकै बेनी नगरपालिका २ बगरफाँटमा पर्ने नयाँ पर्यटकीय स्थल कोप्रे झरनामा आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ ।

यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । कोरोनाकाल (विसं २०७७ साल) मा पत्ता लागेको यो झरनामा त्यस पछिका वर्षहरुमा चहलपहल बढ्दै गएको हो ।

यहाँ दैनिक करिब २ सय जना युवायुवतीहरु दैनिकरुपमा पुग्ने गरेका स्थानीय गेमबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी,व्यापारी लगाएतका व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन् ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको दुधेखोला नजिक रहेको ‘कोप्रे झरना’ पछिल्लो समय पर्यटकहरुको गन्तव्य बन्दै जान थालेको हो । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरना विशेषगरी युवायुवतीहरुको आकर्षक स्थल बन्दै गएको हो ।

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् ।

खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन् । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताउनुभयो ।

‘झरनाको पानीले पानी पानी बनायो,खुब मज्जा आयो’ उहाँले भन्नुभयो । रोका मात्रै होइन दैनिक १ सय भन्दा बढी युवायुवतीहर यस झरनामा आएर फोटो खिच्ने,टिकटक बनाउने, रमाउने गर्ने गर्दछन् ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोपे्र झरनामा कतिपय युवायुवतीहरु टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।

कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा विकास गर्नका लागि आवश्यक वजेट विनियोजन गर्नका लागि नगरपालिकालाई सिफारिस गरिएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । उत्तरतर्फ म्याग्दी नदी,पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जंगल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

बगरफाँटका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने अभियानमा लागेका हुन् । पहिलो चरणमा कोप्रे झरना, उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने काम गरिएको क्लबका सचिव सचिन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरू रहेको बगरफाँट गाउँलाई पर्यटनमार्फत संसारभरि चिनाउने अभियानमा क्लबका युवा लागेका छन् ।

यहाँ पानी उड्ने उडाइनो छहरा, आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवाल, गुफा लगायतका पर्यटकीय स्थल रहेका सचिव कार्कीले बताउनुभयो ।

प्रचारप्रसार, मर्मतसम्हार र संरक्षणको अभावमा ‘बत्ती मुनिको अँध्यारो’जस्तै बनेका यहाँका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष सुनिल थापाले बताउनुभयो । “पुछारमा नागबेली पर्दै म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन” उहाँले भन्नुभयो “बीचको समथर भागमा मिलेको बस्तीसहितको बगरफाँटमा देखिने गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरू मक्खै पर्ने गर्दछन् ।”

बगरफाँट गाउँ पर्यापर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको अध्यक्ष थापाको भनाइ थियो । यहाँ गरिएको केरा र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको उहाँले बताउनुभयो ।

Leave a Reply