म्याग्दीकी दुई चेलीको कप्तानीमा रहेको महिला भलिबल टिमले दुई अन्तराष्ट्रिय प्रतियोगितामा एतिहासिक जित निकालेको छ । भुटानको थिम्पुमा शनिबार सम्पन्न काभा बिच भलिबलमा कमला पुनको जोडी उपाधि जित्न सफल भएको छ । शनिबार नै काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा अरुणा शाहीको टोलीले भारतमाथि जित निकालेको हो। नेपालले भारतमाथि ३-२ को सेटमा जित निकालेको थियो ।

यसपटक उपाधिका दावेदार श्रीलंकालाई हराएको नेपालको भारतलाई दोस्रो खेलमा हराएको थियो । भारतलाई भलिबलमा नेपालले पराजित गर्नु ठूलो सफलता मानिएको छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले नेतृत्वमै महिला भलिबल टोलीले अन्तराष्ट्रिय उपाधीसँगै सार्कमा पहिलोपटक रजत पदक समेत जित्न सफल भएको थियो ।

सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गर्नुभएकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोनमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएपछि सर्वत्र चर्चा भएको थियो ।

अहिलेसम्म अरुणाको कप्तानीका खेलमा नेपालले दमदार प्रर्दशन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चको प्रतिष्ठित पिपल्स च्वाइस अवार्डको विजेता सहित दर्जन बढी सम्मानबाट सम्मानित शाहीसँगै पश्चिम म्याग्दीक्को मालिका गाउँपालिका–३ रुम औलमा जन्मिनुभएकी कमलाले सार्क र एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि समेत नेपाली टोलीबाटै लोभलाग्दो प्रदर्शन गर्नुभएको छ ।

शनिबार नै नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न कमलाले अविष्मरणीय प्रदर्शन गर्नुभयो । बिच भलिबल च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै कमला र मनिषा चौधरीको जोडी च्याम्पियन बनेको थियो ।

यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेपनि कमलाको कप्तानीमा बिच भलिबलमा नेपाली जोडीले तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता जितेको छ ।

बि.स २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार नेपाली टिमबाट खेलिरहनुभएको छ । बिभागीय टोली अन्तरगत नेपाल प्रहरीबाट महिला टिमको कप्टानी गरिरहनुभएकी कमलाले खेलमा चमत्कारी जित निकाल्न सक्ने क्षमता छ । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले नेपाली राष्ट्रिय महिला भलिबलमा म्याग्देली चेलीको कप्तानीसँगै शनिबार हात परेको स्वर्ण पदकले एकपटक म्याग्दी जिल्लाकै शीर उच्च भएको बताउनुभयो ।

‘नेपाली भलिबलमा म्याग्देली चेलीले इतिहास रच्दै हुनुहुन्छ, पछिल्लो एकदशक यताका खेलको रेकर्ड निकै राम्रो छ, अरुणाको कप्तानीमा अन्तराष्ट्रियस्तरमा पदकको खडेरी तोड्न सफल भएको थियो’ अध्यक्ष बनियाँले भन्नुभयो ।

राष्ट्रिय टोलीमा अरुणाको कप्तानी र बिभागीय टोलीमा कमला भएकै कारण म्याग्दीलाई भलिबल क्षेत्रमा संघीय र प्रदेशस्तरीय समितिबाट राष्ट्रियस्तरको प्रतियोगिता खेलाउने अवसर तथा तालिमहरू समेत सञ्चालन गर्न पाइएको अध्यक्ष बानियाँको भनाई छ ।

Leave a Reply