म्याग्दीको बेनी नगरपालिका–४,सिंगा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) अहिले नियमित प्रयोगमा छ । गत बर्षदेखि सञ्चालनमा आएको कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले म्याग्दीका कृषकले आलु भण्डारण गरेका छन् ।गतबर्ष सुन्तलाको सिजनमा करिब १५ सय केजी सुन्तला भण्डारण गरेका कृषकले पहिलो परीक्षणकालमा सन्तुष्ट भएका थिए ।

यसपटक आलुको सिजनमा सस्तोमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका वडा नं ४ का अध्यक्ष अण बहादुर खड्काले बताउनुभयो । ‘कोल्डस्टोर बनेपछि कृषकहरूमा खुसी छाएको छ,गाउँ–गाउँका कृषकमाझ अझै सूचना पुग्न सकेको छैन’ अध्यक्ष खड्काले भन्नुभयो । कोल्ड स्टोरमा राख्नपछि निकाल्ने बोलमा प्रति केजी १० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

हाल कोल्डस्टोरमा ७ हजार ५५० केजी आलु भण्डारण गरिएको छ र थप ३ सय केजी आलु ल्याउने तयारी भइरहेको छ। कोल्डस्टोरमा विद्युत् आपूर्ति सहित अन्य संरचनाहरू समेत आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, कृषकका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ ।

कोल्डस्टोर करिब १ करोड ६० लाखमा निर्माण गरिएको थियो भने अन्य आवश्यक संरचनाहरु समेत थपिने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । ‘कृषकलाई कोल्डस्टोर बरदान सावित हुन्छ,‘कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौ’ मेयर केसीले भन्नुभयो ।

म्याग्दी जिल्लामा सुन्तला र आलु् अत्याधिक उत्पादन हुने भएकाले सिजन बाहेक बेमौसम समयमा विक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसम अनुसार आलु, तथा किवीका साथै अन्य नगदे बालीलाई समेत भण्डारण गर्न सकिन्छ ।

मौसमको समयमा कम मूल्य पर्ने र कोल्ड स्टोरमा राखेर बेमौसममा बिक्री गर्दा राम्रो मूल्य पर्ने हुँदा किसानलाई फाइदै फाइदा हुने भएकाले बेनी नगरपालिकाले कोल्ड स्टोरलाई बषैभरी नै प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचना सहित बनाएको छ ।

नेपालमा हालसम्म कोल्डस्टोरलाई सेतो हात्ती भन्ने गरिएकोमा कृषकको फाइदा र नमुना रुपमा सञ्चालन गरी सिजनमा व्यापारीलाई बारीबाटै सस्तोमा बिक्री गर्ने कार्यको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ ।

Leave a Reply