नबिन जुग्जाली

“प्रकृतिको विधान भनौं या भगवानको सृष्टि, मनुष्यको कला भनौं या मनुष्यको कृति” । कोही मनुष्य चन्द्रमा छुनको लागि आफ्नो जीवन विज्ञानमा अर्पण गरिदिन्छन् । कोही मनुष्य समाधि चुम्नको लागि आफ्नो जीवन अध्यात्ममा अर्पण गरिदिन्छन् र कुनैकुनै सुयोग्य राजनेताले आफ्नो देश भक्तिको लागि आफ्नो जीवन राजनीतिमा अर्पण गरिदिन्छन् ।

यसरी जीवन अर्पण गरिदिँदा उनीहरुले आफ्नो जीवनको असीम उर्जा, अनमोल समय र अपार प्रतिभालाई आफ्नो देशको उन्नतिको लागि योगदान र बलिदान गरेका हुन्छन् । ती आफ्ना योगदान र बलिदानले गर्दा नै उनीहरु आफ्नो समयमा चर्चित हिरो बनेर देशमा एक किसिमको हलचल मच्याउने गर्दछन् ।

यस्तै देशको एक अंगको रुपमा रहेको बिम गा.वि.स. पनि बेलाबेलामा म्याग्दी जिल्लाकै राम्रो चर्चामा आउने गा.वि.स.हरुमध्येमा पर्दछ । यी चर्चित गाउँको हिरो हुन् रत्नप्रसाद पुन । जसले आफू समृद्ध नबन्दै गाउँ समृद्ध बनाउनको लागि आफ्नो जीवनको अनमोल समय, कुशल नेतृत्वको कला र जवानीको असीम उर्जा आफ्नो गाउँ बिमलाई अर्पण गरिदिएका थिए ।

जसको योगदान र बलिदानले गर्दा नै आफ्नो समयमा राम्रै हलचल मच्याए । त्यसबेला बिम गाउँ तत्कालीन दरबाङ्ग गा.वि.स.को वडाहरुमा सीमित थियो ।

यस बिम गाउँलाई दरबाङ्ग गाउँ पञ्चायतबाट अलग नगरेसम्म बिमको विकास हुने सम्भावना नदेखेपछि बिमलाई कसरी दरबाङ्गबाट छुट्याउन सकिन्छ भन्ने चिन्तनमा लागिपरेका पुनले राज्य मन्त्री समेत भएका भिमप्रसाद गौचनको शक्तिलाई राम्रो सदुपयोग गरी बिम गाउँलाई एउटा छुट्टै गाउँ पञ्चायतको अस्तित्व स्थापना गरेरै छाडिदिए । यसपछि समाजसेवी छकप्रसाद पाइजा र खिमलाल शर्माको सहयोगमा वडा विभाजन र सीमाङ्कन गरेका थिए ।

कुशल नेतृत्वको प्रशस्त क्षमता भएका पुनले वि.सं. २०३५ मा दरबाङ्ग गाउँ पञ्चायत वडा नं. ९ बाट गा.स.स. पदमा निर्वाचित भई राम्रो जनसेवा गरेका पुन वि.सं. २०३९।०१।२४ दिनमा बिम गाउँ पञ्चायतबाट निर्विरोध उपप्रधानपञ्च हुनुभएको थियो ।

जस्तै परिस्थिति आइपर्छ त्यस्तै निर्णय दिन सक्ने अनौठो खुबी भएका पुनले आफ्नो कार्यकालमा जस्तोसुकै कठिन समस्या आइपरे तापनि ती समस्याहरुलाई सरल ढंगले समाधान गर्न सक्ने कार्यकुशलता थियो । उहाँको यही दक्षताले गर्दा नै आम बिमालेहरुको मन जित्न सफल भएका पुनले वि.सं. २०४३ चैत्र ७ गतेका दिनमा भएको स्थानीय चुनावमा प्रधानपञ्चको पदमा विजयी हुनुभएको थियो ।

उहाँ यस समय अवधिसम्म आइपुग्दा भीमप्रसाद गौचनको विपक्षी बाटो समाई सक्नुभएकोले गौचनले बिमलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक बन्दै गएको थियो । जसको कारण बाइन्दफाँटमा रहेको मालिका प्रा.वि. अस्थायी विद्यालय थियो । यसै विद्यालयलाई आफ्नो मतदाता भएको मराङ्ग–३, कल्लेनीमा हस्तान्तरण गरिदिने भनी भीमप्रसाद गौचनले बिमलाई मानसिक दबाब दिइरहेको बेला चलाख एवम् चतुर दिमाख भएका पुनले बुद्धि र विवेकको कसरत गर्न थाले । जसको परिणाम स्वरुप बाइन्दफाँटको अस्थायी विद्यालयलाई स्थायी स्वीकृति दिलाएरै छाडे ।

यसरी बिमको हित र कल्याण हुने ठाउँमा कतै आफ्नो गोजी रित्ताएर कतै पानी पिएर संघर्ष गरे । उहाँको यस्तो किसिमको संघर्षमा सत्यताको किरण थियो । सुन्दर भिजनको रोशनी थियो । यसै कारण सबै साना ठूला चुनौतिहरुमा उहाँको संघर्षको जीत सुनिश्चित हुँदै गयो । यही जीतसँगै बिम गा.वि.स.ले त्यही ढंगबाट विकास र उन्नति गर्दै गयो ।

निश्चय नै रत्नप्रसाद पुनले यी सारा विकासका कुराहरु आफू एक्लैले गर्न सक्ने सम्भावना थिएन । यदि बिमका जनताले हातमा हात, साथमा साथ र काँधमा काँध नदिएको भए सम्भव हुँदैन थियो । फेरि पनि यी हातहरुले रत्नप्रसाद पुनको कुशल नेतृत्व नपाएको भए शिथिल भएर जाने पक्का थियो ।

यस्ता प्रगतिशील गुण भएका व्यक्तिले यदि व्यक्तिगत उन्नति गर्न चाहेको भए सेनामा भर्ती भएर होस् वा विदेशको नोकरी गरेर होस् आफूलाई अमीर बनाउन सक्थे तर त्यसो गरेनन् । आफ्नो पसिना जीवनभरि समाजलाई दिँदा पनि मज्जासँग थाम्न सक्ने बलियो आर्थिक अवस्था भएकोले बिम गाउँलाई यति धेरै योगदान सेवा दिनुसक्नुभयो ।

उहाँको यस सेवाको उच्च मूल्याङ्कन गर्दै कर्तव्यनिष्ठ रही सेवा गरेबापत् वि.सं. २०४६ साल वैशाखमा स्वर्गीय राजा वीरेन्द्रको बाहुलीबाट सेवा पदक पुरस्कार समेत पाउनुभएको छ ।

त्यसपछि वि.सं. २०४६ सालको विशाल जनआन्दोलनको आँधिबेहरीसँगै निर्दलीय पञ्चायती व्यवस्था सदाको लागि अस्तायो र बहुदलीय व्यवस्थाको उदय भएपछि वि.सं. २०४९ सालमा नयाँ व्यवस्थाको नयाँ स्थानीय चुनाव भयो । त्यसपछि चुनावमा नेकपा (एमाले)को तर्फबाट गा.वि.स.को अध्यक्ष पदमा पुनः सानदार विजयी हुनुभयो र यसरी जनहितको पक्षमा रहेर निःस्वार्थ अति निष्पक्ष भएर बडो कलात्मक ढंगले जनसेवा गरेका पुनले आफ्नो कार्यकालमा थुप्रै उल्लेखनीय कार्यहरु गरेका छन् । यहाँ बुँदागत रुपमा उल्लेख गरेर साध्य नै छैन ।

यो भन्दा अनगिन्ती तथ्यहरु उहाँकै दिलमा दबिएका होलान् । उहाँसँगै बसेर सम्वादले मन्थन गर्न सक्यौ भने ती दबिएका तथ्यहरु उहाँकै मुखबाट बाहिर आउन सक्छ । अंग्रेजीमा एउटा भनाइ छ, च्भकउयलकष्दष्ष्तिथ ष्क तजभ उयधभच अर्थात् जसले उत्तरदायित्व बहन गर्न सक्छ, त्योसँग नै शक्ति हुन्छ । उहाँसँग शक्ति थियो । व्यवहारमा इमान्दारिता र विचारमा स्पष्टता थियो ।

यही कारण समाजमा आफ्नो व्यक्तित्व प्रभावशाली एवम् लोकप्रिय बनाउन सफल भएका पुनले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा निर्विरोध अध्यक्ष पद पाउनुभएको थियो । त्यतिबेला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकोमा नेकपा एमाले जिल्ला कमिटिबाट बधाई पत्र प्रदान गरेको थियो ।

यसरी जिल्ला कमिटिबाटै उच्च सम्मान पाएका पुनले वि.सं. २०५४ सालमा म्याग्दी जिल्ला १० नं. क्षेत्रबाट क्षेत्रीय सदस्यको लागि पार्टीबाट टिकट समेत पाउनुभएको थियो । तर पार्टी भित्र पदको लागि लबिङ्ग हुन थालेपछि रत्नप्रसाद पुनले पार्टीको हितमा आफूले पाएको टिकटलाई समेत तिलाञ्जली दिएका थिए ।

यस पछिका दिनहरुमा बिस्तारै नेकपा माओवादी पार्टीको जनयुद्धको हुरी तुफानले ल्याएको बादल मडारिन थालेको बेला अन्य पार्टीका अस्तित्व ओझेलमा पर्दैै गयो । गा.वि.स.स्तरमा हुने सबै काम सदरमुकाम बेनीमा केन्द्रित हुँदै गयो ।

यसका साथै गा.वि.स.का पदाधिकारीहरुको अधिकार पनि न्युन हुँदैगयो । अध्यक्ष पुनको ५ वर्षको कार्य अवधिको आखिरीतिर पुनलाई मृगौलाको रोगले समातेपछि उहाँ मृगौलाको दीर्घरोगी बने । यसरी नै आफ्नो स्वस्थताले साथ नदिएपछि आफ्नो जनसेवाबाट हात निकालेका हुन् ।

यसरी वि.सं. २०३५ सालको गा.स.स. पदबाट जनसेवामा हाजिर भएका पुन वि.सं. २०५९ सालसम्मको अति धेरै योगदान दिएर अध्यक्ष पदबाट बिदा लिएका हुन् भने उता विद्यालय क्षेत्रमा पनि उत्तिकै योगदान छ ।

उहाँले वि.सं. २०२७ सालमा श्री किसानी प्रा.वि.को विद्यालय सञ्चालक उपसमितिमा प्रवेश गरेका पुनले क्रमशः वि.सं. २०२९ सालमा समितिको सदस्य हुँदै शिक्षा नियमावली सातौं संशोधनमा व्यवस्था भए बमोजिम वि.सं. २०३८ साल जेठ २६ मा बसेको जि.शि.अ.को निर्णयद्वारा त्यस विद्यालय सञ्चालक समितिको अध्यक्ष पदमा रत्नप्रसाद पुनलाई मनोनित गरेको थियो ।

त्यसपछि विद्यालयको सारा जिम्मेवारी आफ्नो काँधमा लिएका पुनले वि.सं. २०३९ सालमा ४० रुपैयाँबाट आर्थिक विकास शुरुवात गरेका हुन् । खर्चमा मितव्ययिता अपनाउने र हिसाबमा पारदर्शिता भएको अति स्वच्छ छविका पुनले आफ्नो शैक्षिक योग्यता साधारण लेखपढ भएता पनि अनुशासित, नैतिकवान् र इमान्दारी जस्ता गुणले गर्दा नै शिक्षक र विद्यालयलाई राम्रो नियममा राखेर सञ्चालन गर्ने योग्यता राख्नुभयो ।

यस अन्तरालमा श्री किसानी प्रा.वि.बाट नि.मा.वि. र नि.मा.वि.बाट प्रस्तावित मा.वि. हुँदै मा.वि. तहसम्म विद्यालय उहाँकै कार्यकालमा भएको थियो ।

यसरी वि.सं. २०३८ सालदेखि लगातार विद्यालय सञ्चालक समितिको अध्यक्षमा रहेर सक्षम नेतृत्व गरिरहेका पुनलाई रोगले बाधा उत्पन्न गर्ने स्थिति भएपछि वि.सं. २०६४ पौष ३० गतेका दिनसम्म आइपुग्दा विद्यालयको आर्थिक नगद रु.६८३११३।६७ अक्षेरुपी छ लाख त्रियासी हजार एक सय तेह्र रुपैयाँ सतसठ्ठी पैसा जम्मा भएको सो रकम सहित सम्पुर्ण खातापाताहरु यही समितिको रोहवरमा समितिका सदस्य श्री पहलवीर जुग्जाली र प्राचार्य श्री जंगबहादुर गर्बुजालाई हस्तान्तरण गरी आफ्नो अस्वस्थताले गर्दा सक्रिय रुपमा कार्य गर्न नसक्ने कारणले देखाई विद्यालयको गरिमामय पदबाट राजीनामा दिएका थिए ।

वास्तवमा अध्यक्ष पुन बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ । वादविवादमा तर्क लगाउने सक्ने अन्योलतामा अर्थ लगाउन सक्ने, अन्यायमा बुद्धि लगाउन सक्ने, समस्या र चुनौतिहरुमा उपाय लगाउन सक्ने, हँसीमजाक गरेर मान्छे हँसाउन सक्ने र कहिले भावुकतामा गीत, कविता, गजल लेख्न सक्ने यस्ता प्रशस्त खुबी भएका पुन साँच्चि नै समाजप्रेमी हुनुहुन्छ ।

उहाँले लेखेको कविता यस्तो छ 
केही साथीहरु स्वस्थ हृष्ट–पुष्ट छन्
म त रोगसँग संघर्ष गरेरै बाँचेको छु ।
केही साथीहरु देखे पनि नदेखे झैं गर्छन्
म त देखे बोलाएरै हाँसेको छु ।
कोही साथीहरु मुग्लान पसे छन्
म त मेरो रमाइलो गाउँमै नाचेको छु ।
कोही साथीहरु धनाढ्य भैसकेछन्
म त एक मानो खाएरै बाँचेको छु ।
कोही साथीहरु महलमा आसीन छन्
म त मेरै झुपडीमा हाँसेको छु ।
खै रोएर पो के पाउनु छ र
त्यसैले धक फुकाएर हाँसेको छु ।
अनि खुशीसाथ बाँचेको छु ।

यस्ता थुप्रै उत्कृष्ट कविताहरु लेखेर त्रिवेणी नामक पुस्तक पनि प्रकाशित गरिसक्नुभएका अध्यक्ष पुनको यो –
सब आशा उही हो महल बनाउने ……

कविताले वि.सं. २०५८ सालमा नवप्रतिभा साहित्यिक हवाई पत्रिका म्याग्दीबाट जिल्लाकै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कार तथा प्रमाणपत्र समेत पाउनुभएको छ । जीवनभरि मन, ध्यान र योगदान सबै समाजलाई अर्पण गरेका पुनको हत्केला अहिले खाली नै छन् । व्यक्तिगत स्वार्थको दृष्टिले उहाँ अहिले शुन्यमा हुनुहुन्छ ।

तर सामाजिक दृष्टिले हेर्दा मान, सम्मान, प्रतिष्ठा र गौरवशाली इतिहासका धनी हुनुहुन्छ । उहाँले आफ्नो जिन्दगीलाई समाजसेवामा बन्धकी राखेर भए पनि सार्थक बनाउनुभएको छ ।वास्तवमा मानव भएर जन्मिनुको अर्थ पनि यही हो । पिता नरजङ्ग पुन र माता बेलमति पुनको कोखबाट कान्छा पुत्रको रुपमा वि.सं. २००७ असार ११ गतेका दिनमा बिम गा.वि.स. वडा नं. १ मा जन्मिनुभएको हो ।

लेखक : बेनी अनलाइनका नियमित स्तम्भकार हुनुहुन्छ ।

Leave a Reply