झोलुंगे पुलको जिल्ला भनेर चिनिएको बागलुङमा बर्सेनि नयाँ पुल थपिइरहेका छन्। झोलुंगे पुलको संख्या थपिएसँगै पर्यटन आगमन बढ्दै गएको छ। जिल्लामा पछिल्लो दुई वर्षमा ४१ झोलुंगे पुल निर्माण भएका छन्।

आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ झोलुंगे पुल निर्माण भएका हुन्। पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौं नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यसमेत बनेको बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुंगे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेको पाइन्छ।

विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बांगेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभइ बाह्य पर्यटकसमेत तान्न थालेको छ। ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ।

यस वर्ष बागलुङ–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी पाँच सय २३ मिटर लामो झोलुंगे पुल निर्माण भएको थियो। यी दुई पुलले बढी पर्यटक तान्ने गरेको पाइन्छ। जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुंगे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ। बजारसम्म मात्रै नभइ यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुर्‍याउन मदत पुर्‍याएको छ।

पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समितिका अध्यक्ष एवं बागलुङका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ।

‘पुलले बागलुङको पहिचानलाई उचो बनाएको छ, पुलैपुलको जिल्ला भनेर पहिलेदेखि नै बागलुङ चिनिँदै आएकामा पछिल्लो समय थुप्रै झोलुंगे पुल बनेका छन्, पुलको महŒवलाई ध्यानमा राखेर यसै वर्ष बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारा बनाएको पर्यटन प्रवर्द्धन गर्न थालेका छौं”, खड्काले भने, ‘पुलले अझ बढी त नागरिकलाई वारपार गर्न सहज बनाएको छ, टाढाटाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ।’

बागलुङका १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुंगे पुल छन्। एउटै पालिकामा धेरै संख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाइदिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताए।

यसै वर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्थानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटकसमेत आउन थालेका उनको भनाइ छ। यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनी बताउँछन्।

विकले भने, ‘यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरू घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरू किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ  आउने देखिन्छ।’

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुंगे पुलमा समेत आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ। पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने संख्या धेरै हुने ढोरपाटनका नगर उपप्रमुख धनबहादुर कायतले जानकारी दिए।

तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो। पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन्। स्थानीयले घाँस दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्ने उपप्रमुख कायतको भनाइ छ।

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले यात्रुलाई आकर्षित गर्ने उहाँले बताए। पुल दुई सय ४३ मिटर लामो छ। पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ। पुल निर्माणपछि ढोरपाटन–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमर लगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ।

Leave a Reply