---Advertisement---

‘मंगला इन्द्रेणी’ संग्रहालयमा लोपोन्मुख परम्परागत सामग्री राखिने

On: August 4, 2024 9:33 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माण भएको ‘मंगला इन्द्रेणी पार्क’ को स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि स्थापना गरिएको संग्रहालयका पूराना साम्रागी संकलन सुरु गरिएको छ ।

मंगला गाउँपालिका-२, बाबियाचौरमा रहेको आर्कषक मंगला इन्द्रेणी पार्क तथा मंगला खड्ग नन्द सङ्ग्रहालयमा नयाँ पुस्तालाई जानकारी दिने गरी प्राचिनकालका बस्तु, आधुनिकीकरणसँगै लोभ भएका हस्तकला, ग्रामिण क्षेत्रमा प्रयोग हुने विभिन्न साम्रागीहरु सङ्ग्रहालयमा संग्रह गर्न थालिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘संग्रहालयमा ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गरिने छ, ५० बर्ष अगाडीका सामग्री संकलनको काम भइरहेको छ’ अध्यक्ष रोकाले भन्नुभयो ।

सङ्ग्रहालयमा नयाँ पुस्ताले प्रयोग नगरेका साम्रागीहरुलाई प्राथमिकता दिने र अध्ययन, अवलोकन केन्द्र बनाउने योजना रहेको अध्यक्ष रोकाको भनाई छ। संग्रहालयका लागि आफुँसँग भएका पूराना हस्तकाल, इलेक्टोनिक्स तथा अन्य बस्तुहरु उपलब्ध गराउन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

घरायसी प्रयोजनका बस्तुदेखिस्थानीय जनजाति समुदायको पहिचान झल्कने कला, संस्कृृतिसँग सम्बन्धित सामग्री समेत राखिनेछन्। परम्परागत सामग्रीको संरक्षणसँगै संग्रहालयमा माओवादीको १२ बर्षे जनयुद्धमा ज्यान गुमाएकाहरुको सम्झनामा तस्वीर सहितको पार्कको योजना समेत रहेको छ।

गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका र मंगला युथ क्लबको आर्थिक सहयोगमा निर्मित पार्क र सङ्ग्रहालय बनाउन मंगला–२, बाबियाचौर स्थायी घरभई हाल काठमाडौं निवासी क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क तथा सङ्ग्रहालय निर्माण गरिएको थियो ।

पार्क अहिले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरुको समेत सङ्गमस्थल बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेलको भनाई छ । पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्ने लगायतका फनपार्कका संरचनाहरु जडान गरी सञ्चालन गरिएको छ ।

इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफुलका बोट छन् । पछिल्लो समय बढ्दो सहरी कोलाहलबाट मुक्त हुन तथा सहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ र स्वच्छ हावा लिदै पार्कमा जिल्लाभित्रका धार्मिक तथा पर्यटकीयस्थलका जानकारी समेत राखिने छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।