पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ ।

विगत ५ महिना सुस्त गतीमा रहेपनि अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङ ८८ मिटर खन्ने काम तिब्रगतिमा अगाडी बढेकोमा हेड टनेलसम्म प्ुग्ने गरी अडिटमा दुई सिफ्टमा काम भइरहेको आयोजनाका जियोलोजिस्ट चित्र बिक्रम टन्डनको भनाई छ ।

विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको अयाोजनाको विगतमा सुरुङ खन्ने जिम्मा लिएका ठेकेदार काम छोडेर बेपत्ता भएपछि काम रोकिएको अवस्थामा आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम गरिएकोमा अब सिभिल सहित बाँकी कामलाई तिब्रता दिने धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरको भनाई छ ।

‘अब तालिका अनुसार नै काम अगाडी बढ्छ, हामीले अहिलेसम्म बैंकको कर्जा प्रयोग गरेका छैनौ,‘संस्थापक लगानीकर्ताहरुकै लगानीबाट अहिलेसम्मको काम गरिएको छ’ अध्यक्ष कुँवरले भन्नुभयो । आगामी दुईबर्षभित्र परीक्षण उत्पादनको लक्ष्य रहेको छ ।

मालिका–५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।

पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ। हालसम्म आयोजनास्थलमा बैकको कर्जा प्रयोग गरिएको छैन ।

आयोजनास्थलमा संस्थापक लगानीकर्ताको सेयरले मात्रै काम भइरहेको अवस्थामा सिभिल सहितको काम सुरु भएपछि मात्रै बैंकको कर्जा प्रयोग गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ ।

हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचना तयार छ।

Leave a Reply