अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने सोखले रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ ।
पछिल्ला वर्षमा किशोरीहरुमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । यसलाई धार्मिक विश्वासभन्दा पनि धेरैले फेसनका रूपमा लिने गरेका छन् । कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेको आरोप लाग्न थालेको छ । हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिलाहरू बताउँछन् । धेरै महिला श्रीमान्को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै साउनको सोमबार व्रत बस्ने गर्दछन् ।
साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्ने धार्मिक विश्वासले गर्दा आफूले हरियो चुरा, मेहेन्दी र पहिरन लगाएको जनकपुरधामकी स्थानीय तथा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य रिङ्कु गायत्री मिश्र बताउँछिन् । उनले भनिन्, “साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभरि हरियो चुरा लगाउने महिलाहरुको रोजाइमा पर्छ ।”
मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्य तथा मोडेलसमेत रहेकी जनकपुरधामकी पुष्पा यादव हरियो चुरासँगै मेहन्दीले हात सजाएको बताउँदै परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि अरूले पनि रहरले लगाउने गरेको बताउँछिन् ।
जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी सम्झना भट्टराई पनि वर्षौंदेखि साउनमा हातमा हरियो चुरा, मेहेन्दी र राता कुर्थासुरुवालमा सजिएर हिँड्ने र सोमबार व्रत बस्ने गर्छन् । उनको श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदीमा छन् । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्ने गरेको उनको भनाइ छ । सम्झनाले आफ्नी सानी छोरीलाई हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिएको बताए ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी सुनिता अधिकारी साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन बिस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहेन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताउँछिन्। “पहिले गाउँघरमा मेहेन्दी पाइँदैन थियो । मेहेन्दी लगाउने चलन पनि थिएन । महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहेन्दीले लिएको छ,” मिथिला नगरपालिकाकी महिला अधिकारकर्मी बिना कडारीले भनिन् ।
हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहेन्दी र चुरा हिजोआज सबैजसो महिलाको रोजाइमा पर्न थालेको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरी समेतले हरियो चुरा, मेहेन्दी लगाएको देखिन्छ । साउनमा शृङ्गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन् । साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढिरहेको छ । महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी सञ्चालिका मीनादेवी साहले असारको मध्यदेखि नै हरियो चुराको बिक्री बढेको बताइन् ।
पुरोहित इन्द्रकान्ता झा विवाहित महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै यसमा सहभागी हुने र व्रत पनि बस्ने गरेको बताउँछिन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनी हरियो चुरा र मेहेन्दी लगाउँछन् । साउनको सोमबार जिल्लाका सबैजसो शिव मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ ।
पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाले यसलाई बढी महत्वका रुपमा लिने गर्छन् । माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्ति भएको विशवास गरिन्छ ।
त्यही विश्वासका आधारमा साउनमा हरियो पहिरिँदा भगवान् शिव खुसी हुने धार्मिक मान्यता रहिआएको छ । हरियो रङ प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक ऊर्जाको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ । शास्त्रमा प्रकृतिलाई ईश्वरका रुपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयु बढ्ने विश्वास छ ।
संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीका अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक मानिन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ । शास्त्री नवीन प्रियदर्शी हरियो रङ सौभाग्यको प्रतीक मान्छन् । साउन हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि भएकाले हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।
हरियो उपचारको रङ पनि हो, जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि सुत्ने कोठाको दक्षिण पूर्वी भागमा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ । साउनमा हरियो चुरा, मेहेन्दी लगाउँदा घरमा शुभ हुने तथा सर्पदंशबाट जोगिने विश्वास छ ।
विवाहित महिलाले मेहेन्दी, हरियो चुरा लगाउँदा उनीहरुको सुन्दरता बढ्ने र श्रीमान्–श्रीमतीको सम्बन्ध प्रगाढ हुने बताइन्छ । चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ भने मेहेन्दीले पनि स्वास्थमा फाइदा पु¥याउँछ । मेहेन्दीको शीतलताले तनाव, टाउको दुखाइ र ज्वरोको समस्या नआउने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी मानिन्छ ।
अधिकारकर्मी डा अरुणा उप्रेतीको अनुसार कुनै पनि विषयको बजार बनाउनेहरू बडो मनोवैज्ञानिक हुन्छन् । मान्छेको मनमा के कुराले पिरोल्छ भनेर उनीहरूले अनेक अनुसन्धान गरेका हुन्छन् । महिलालाई पतिको प्रेम र स्वास्थ्यको नाममा जे पनि बिकाउन सजिलो हुने भएकाले साउन महिनामा हरियो चुराको संस्कृतिलाई व्यापार बनाउन सजिलो भएको उनको भनाइ छ ।
डा उप्रेती भन्छिन्, “कुनै पुरुषले हरियो कमिज र हरियो टोपी लगाएर हिँड्यो भने श्रीमती र छोरीको आयु बढ्छ भनेर किन कुनै धर्मग्रन्थमा नलेखेको होला ? किन कुनै धर्मगुरुले नभनेको होला ? आखिर परिवारमा त श्रीमान् मात्रै धेरै आयु बाँचेर त भएन, श्रीमती पनि त बाँँच्नुप¥यो । दाम्पत्य जीवन सुखी बनाउन श्रीमान्को कुनै दायित्व नै नहुने हो कि ? सबैको आयु बढाउने जिम्मा श्रीमतीको मात्रै किन होला ? यस्तो प्रश्नको जवाफ महिलाहरूले खोजी गर्न थाल्नुपर्छ ।”
उनका अनुसार बजारमा हरियो सारी, कुर्था र चुरा किन्नेहरूसँग पहिले नै दराजमा थरीथरीका लुगा हुन्छन् तर बजारले महिलाको मनमा के घुसाइदिएको छ भने हामीले नयाँ हरियो लुगा नकिने, हरियो चुरा नलगाए पतिको आयु बढ्दैन । उनी भन्छिन्, “म पतिलाई माया गर्छु भन्ने कुरा संसारलाई किन देखाउनुप¥यो ? यस्तो प्रश्न महिलाहरू किन गर्दैनन् ? हरियो, रातो, नीलो जुन चुरा पनि महिलाले लगाए हुन्छ तर जब बजारले त्यो लगाउनैपर्छ भन्ने बाध्यता गर्छ अनि महिलाहरूले ‘हामी त्यसो गर्दैनौँ’ भन्न किन नसकेका होलान् ?” बरु प्रेमको प्रतीकस्वरूप श्रीमान्श्रीमतीले दुईवटा रूख रोपेर साउन महिना मनाउन डा उप्रेती सल्लाह दिन्छिन् ।