जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् ।

व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए ।

गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । पौडेलले भने, “गतवर्ष प्रति किलो पाँच हजारदेखि रु छ हजारमा बिक्री भएकामा यसपटक मूल्य बढेर १० हजारदेखि दश हजार पाँच सयसम्ममा बिक्री भयो”।

व्यवसायीहरुले गाउँमै आएर बीउ खरिद गर्ने गरेको उनको भनाइ छ । काँक्रोको बीउ बिक्री गरेर यसवर्ष थोरैमा तीन लाखदेखि धेरै आम्दानी गर्नेले दश लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बीउ उत्पादन राम्रो भएको किसान बलराम आचार्यले बताए । किसान आचार्यले भने, “गतवर्ष ४० किलो उत्पादन भएकामा यस वर्ष ७५ किलो उत्पादन गरेँ ”। प्रतिकिलो दश हजारका दरले बिक्री गर्दा रु सात लाख ५० हजार आम्दानी भएको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको काँक्रोको बीउ सङ्कलन गरेर एक हजार किलो काठमाडौँस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको किसान पौडेलले बताए । पौडेलका साथै वडाध्यक्ष टुङ्गनाथ आचार्य, स्थानीय गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बीउ सङ्कलन गरेर बिक्रीका लागि काठमाडौँ, पोखरा र बेनी पठाउने गर्छन्।

स्थानीय नवराज शर्मा यसवर्ष गाउँभरिमा सबैभन्दा धेरै ९७ किलो काँक्रोको बीउ उत्पादन गरेर नौ लाख ७० हजार आम्दानी गर्न सफल भएका छन् । उत्पादन भएको काँक्रोको बीउले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बीउ उत्पादन गरेर गाउँमा दुईदेखि तीन करोडसम्म भित्र्याउने गरेका छन् ।

पछिल्ला केही वर्षयता काँक्रो र गोलभेडाको बीउले राम्रो मूल्य पाउन थालेपछि विदेश पुगेका युवासमेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताए । तरकारी र बीउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् ।

यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्दछ । ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ । बीउबाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ ।

यहाँका स्थानीयले धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेसाका रुपमा अपनाएका छन् । धाइरिङ बाहेक जिल्लाको फलेवास नगरपालिका–१० कर्घा, वडा नंं ११ पाङराङ र विहादी गाउँपालिका–१ बाच्छामा पनि काँक्रोको बीउ उत्पादन हुँदै आएको छ । रासस

Leave a Reply