कृषि विषयमा स्नातकोत्तर गरेका युवाले ‘एक विद्यार्थी, एक फलफूलका बिरुवा वितरण’ अभियान चलाएका छन्। जैमिनी नगरपालिका- २ का सुजन सापकोटाले दुई वर्षदेखि यो अभियान चलाउँदै आएका छन्। एक विद्यार्थी एक बिरुवा भने पनि कतिपय विद्यार्थीले धेरै बिरुवा रोपेका छन्। सापकोटाले सुन्तला, कागतीलगायतका फलफूलका बिरुवा वितरण गरी अभियान चलाएका हुन्।

यो अभियानअन्तर्गत अहिलेसम्म उनले सात हजार बिरुवा विद्यार्थीलाई वितरण गरेका छन्। जैमिनी, बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाका विद्यार्थीलाई ती बिरुवा वितरण गरिएको हो। मंगलबार पनि सापकोटाले बागलुङ नगरपालिका- ९ सिगाना मावि तित्याङका विद्यार्थीलाई बिरुवा वितरण गरेका थिए।

‘बढ्दो जलवायु परिवर्तन न्यूनीकरणका लागि हरेक विद्यालयमा यो अभियान चलाएको हुँ’ सापकोटाले भने, ‘आफ्नो माटोलाई माया गर्ने भावना विकास गर्न यो अभियानले साथ दिनेछ।’ बाँझो रहने जग्गा उपयोग गर्न पनि यो अभियानले साथ दिने उनले बताए।

बढ्दो बसाइसराईं कम गर्न र विद्यार्थीलाई कृषिक्षेत्रमा आकर्षित गर्न पनि यो विधि उपयोगी भएको उनको भनाइ छ । कृषि प्राविधिक भएकाले सुन्तला र कागतीका बिरुवामा आउने समस्याबारे पनि उनले सल्लाह दिने गर्छन्। विद्यार्थीकालमै बिरुवामा लाग्ने रोग–किराबारे जानकारी लिने र उपचार पद्धति जान्न पाएका विद्यार्थीले भोलि कृषि क्षेत्रमा लाग्न प्रेरणा मिल्ने शिक्षकहरूको भनाइ छ।

गाउँबाट निरन्तर लामो बसाइसराइ भएका बेला विद्यालयमा विद्यार्थीलाई एक विद्यार्थी, एक कागती र एक सुन्तलाको बिरुवा वितरणले वातावरणमा पर्यावरणीय सन्तुलन हुनुको साथै अहिलेको युवा पुस्तालाई कसरी आफ्नै माटोमा खेल्न सकिन्छ जोडिन सकिन्छ भन्ने सन्देश पनि कार्यक्रमले दिएको छ।

विभिन्न ठाउँको हावापानी र त्यहाँको अवस्थालाई मध्यनजर गरेर विद्यार्थीलाई पनि त्यस्तै किसिमका फलका बिरुवा वितरण गर्दै आएका छन् । साथै विभिन्न स्थानीय तहमा कृषकलाइ जम्मा गरी कृषि खेती सम्बन्धी तालिम सञ्चालन गर्नुको साथै विभिन्न वडामा गएर निःशुल्क परीक्षण गर्दै आएका छन्।

बागलुङ जिल्लाबाट अभियान सुरु गरेका सापकोटाले गण्डकी प्रदेशका अरू जिल्लामा पनि आवश्यकताको आधारमा सुहाउँदो हावापानी अनुसारको उत्पादन दिने बिरुवा बिद्यार्थीलाई वितरण गर्ने अभियान छ। पहिलो चरणमा २० हजार बिरुवा वितरण गर्ने योजना छ।

Leave a Reply