म्याग्दीकाे धाैलागिरि गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानु भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा, आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो ।

मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला परिवारसँग फोनमा कुराकानी पनि हुन्थ्यो । यति हुँदैमा पनि परिवारमा खुशी छाएको थियो । उहाँकी श्रीमती लक्षिमाले छोराछोरी राम्रो विद्यालयमा भर्ना गर्नु भयो । घरमा खाने लाउने समस्या कम हुन थाल्यो । छोराछोरी, आमाबुबा र आफू खुशी भएको लक्षिमाले लिलप्रसादलाई सुनाउनु हुन्थ्यो ।

यसरी काम गर्दै पैसा जोगाउँदै घर परिवारसँग सुख साट्दै दुई वर्ष बित्यो । एकदिन फोनमा लिलप्रसादले कम्पनीले दिने घर बिदामा आफू घर आउने बताउनु भयो । यो कुराले लिलप्रसादको परिवारमा खुशी थपियो । घर बिदामा आउने दिनहरू नजिकिँदै गर्दा लिलप्रसादले लक्षिमालाई फोन गरेर आफू अर्को कम्पनीमा काम गर्न जान लागेको बताउनु भयो । तर कुन कम्पनीमा के कामका लागि जान लागेको भन्ने बारे केही भन्नु भएन ।

त्यसपछि लिलप्रसादको फोन पनि आउन छोड्यो । कम्पनी फेर्दा हुने जोखिमबारे न परिवारलाई थाहा थियो न त लिलप्रसादलाई । बाबा घर फर्कने दिन गनेर बसेका छोराछोरीले दिनको गन्ती भुले । लक्षिमाका दिनहरू लिलप्रसादको फोन आउँछ कि भन्ने आशमा बित्न थाले । आमाबुबाका आँखा छोरो फर्कन्छ कि भन्दै टोलाउन लागे ।

आर्थिक अवस्था उँभो लागेको परिवार फेरि के खाऊँ र के लाऊँको अवस्थामा पुग्यो । घर व्यवहार कसरी चलाउने ? छोराछोरीलाई कसरी पढाउने ? सासूससुराको रेखदेख कसरी मिलाउने ? यी सबै जिम्मेवारी लक्षिमाको काँधमा आयो । उहाँले आमाजूको जग्गा कमाएर घर व्यवहार मिलाउन थाल्नु भयो । खेतीपाती गरेर उब्जेको अनाज बेचेर छोराछोरी पढाउनु भयो । लक्षिमाको दुःखमा माइतीले साथ दिए ।

समय बित्दै गयो । लक्षिमाले निकै दुःख गरेर छोराछोरी पढाउनु भयो । परिवार चलाउनु भयो । अहिले उहाँको ठूलो छोरा र छोरीको विवाह भइसकेको छ । उहाँले आफ्नो कर्तव्य राम्ररी पूरा गरिरहनुभएको छ । तर उहाँलाई आफ्नो श्रीमानको साथ खड्किन्छ । गाउँबाट विदेश जाने सबैलाई उहाँले श्रीमान् खोजिदिन अनुरोध गरिरहनु भयो ।

एकदिन लक्षिमाका छोरा साथीको राहदानी (पासपोर्ट) बनाउन जिल्ला प्रशासन कार्यालय जाँदा आप्रवासी श्रोत केन्द्रबारे थाहा पाउनु भयो । त्यहाँ पुगेर थाहा भयो बेपत्ता भएका मानिस खोजी दिने संस्था हुन्छ । उहाँले आफ्नो बाबा खोजी पाऊँ भनी निवेदन दिनुभयो । देश र विदेशमा रहेका विभिन्न सङ्घ–संस्थासँग बिन्ती गर्नु भयो ।

लक्षिमा र उहाँको परिवारको प्रयासहरू विफल रहे । छोरा आउला भनेर बाटो हेरेर बस्नुभएकी लिलप्रसादकी आमाका आँखा उहाँको पखाईमा नै बन्द भए । लिलप्रसादका बुबा धिपधिप गर्दाको सास साँचेर छोराको पखाईमा हुनुहुन्छ । तर १३ वर्ष बितिसक्दा पनि लिलप्रसादको केही पत्तो लागेको छैन ।

लक्षिमाले आफ्नै पौरखमा सबै ऋण तिरिसक्नु भयो । छोराछोरी हुर्किसके । अहिले घर परिवारको आर्थिक अवस्था राम्रो छ । लक्षिमालाई आफ्नो आसपासमा सबै कुरा मिलिसकेकाले लिलप्रसाद फर्केर आए हुने भन्ने छ ।

उहाँले अझै पनि विदेश जाने आफन्त, नातागोता, छरछिमेक र साथीभाइलाई आफ्नो श्रीमानलाई खोजिदिन अनुरोध गरिरहनुभएको छ । त्यसबाहेक जिल्ला समन्वय समितिले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्रमा निवेदन दिनुभएको छ । केन्द्रले विभिन्न निकायहरूसँग सहकार्य गरेर खोजी गरिरहेको छ । १३ वर्षदेखि छोराछोरी बाबा आउने प्रतिक्षामा छन् ।

Leave a Reply