---Advertisement---

भत्किदै घरबार, म्याग्दीमा बढ्दो क्रममा सम्बन्ध बिच्छेद

On: August 9, 2024 12:48 PM
Follow Us:

म्याग्दीमा आधुनिक जिवनशैली, सहरी क्षेत्रमा बसाईसराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह, डिपेन्डेन्टमा अष्ट्रेलिया र प्रेमि र प्रेमिकालाई श्रीमान र श्रीमती बनाउन झुक्काएर डिर्भोस गर्नेहरुका कारण बर्षेनी घरबार भत्किनेहरुको संख्या बढ्दै गएको छ ।

पछिल्ला दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा २० बर्षदेखि ७५ बर्षसम्मकाले सम्बन्ध बिच्छेद गरेका छन् । जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९÷०८० मा कुल ६१८ मुद्दामध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएकोमा ३२९ फछ्र्योट भएको थियो भने आव २०८०÷०८१ मा कुल ५९२ मुुद्धामा सम्बन्ध विच्छेदका ३१७ थान रहेको देखिन्छ । सम्बन्ध विच्छेद सहित ११० वटा मुद्दा विचाराधीन रहेको जिल्ला अदालत म्याग्दीका स्रेस्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि समय तोकेर दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने गरेपनि दुबै पक्षको एउटै स्वर हुने गरेले मेलमिलाको प्रयास सफल हुन सकेको छैन । दैनिकजसो सम्बन्ध–विच्छेदको निवेदन बोकेर विवाहित दम्पत्ती अदालत धाइरहेछन् ।

कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक विवाद, वैदेशिक रोजगारमा गएका पतिपत्नीबीच बढ्दो असहमति, यौनजन्य गतिविधि, अन्तर्जातीय विवाहका साथै परिवारमा विश्वासको सङ्कट भएर अदालतसम्म मुद्दा पुगेको कुरा अधिवक्ता ठाकुरप्रसाद आचार्यले बताउनुभयो ।

पछिल्लो समय अंशसहितभन्दा अंश नलिई सम्बन्ध विच्छेद गर्ने प्रवृति बढेको अवस्थामा सम्बन्ध विच्छेद दर्ता गरेपछि श्रीमान र श्रीमती दुबैले विदेशको बाहना बनाएर नाटक गरी प्रेमी प्रेमिकासँग विवाहको तयारी गरेको भन्दै केही महिनामै सम्बन्ध विच्छेदलाई रद्ध गरिदिन अदालतमा पुगेर अनुरोध समेत गर्ने गरेको पाइएको छ ।

सम्बन्ध विच्छेदका घटनाले परिवार, सामाजिक र ब्यक्तिगत रुपमा समेत धेरै क्षती पुगिरहेको अवस्थामा जनचेतनामुलक कार्यक्रम सहित बाल विवाह रोक्ने अभियानलाई प्रभावकारी बनाउनुपर्ने महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसकी पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीको भनाई छ ।

म्याग्दीमा श्रीमतीसँग अलग हुन बैदेशिक रोजगारीमा जाने बाहना बनाएर प्रेमिकालाई अर्को श्रीमती बनाएका घटनाहरू समेत छताछुल्ल भएपछि अब सम्बन्ध बिच्छेदका मुद्धामा हेल्चेक्राई नगर्न र सोच बिचार गरेर मात्रै निर्णय लिन कानुनका जानकारहरु बताउँछन् । जीवनभर सँगै बाँच्ने बाचा गरेर विवाह बन्धनमा बाँधिएका दम्पत्ती कलिला सन्तानलाई छोडेर अगल हुने गरी कानुनी प्रक्रियाबाटै सम्बन्ध विच्छेद गर्नेको संख्या हरेक बर्ष बढ्दो क्रममा छ ।