पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का बेनी–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२,लाम्पाटा–रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडकखण्डमा माथिबाट पहिरोसहित रुख ढलेपछि पूर्णरुपमा अवरुद्ध भएको यात्रु सुर्यकिरण न्यौपानेले बताउनुभयो । लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरोमा लगातार माथिबाट ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर वारपार गर्नुपर्ने यात्रु न्यौपानेको भनाई छ ।

पहिरोका कारण शुक्रबार साँझदेखि स्थानीयलाई आवतजावतमा समेत समस्या भएको छ ।पहिरोका कारण धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाबाट सदरमुकाम बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङबजारदेखि बेनी आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

२४ किलोमिटर दूरीमा रहेको बेनी–दरबाङ सडकमा बेनी नगरपालिका–४,सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६,बाङ्गेभिर र मङ्गला गाउँपालिका–२ को लाम्पाटा क्षेत्रमा लगातार पहिरो खस्दा पश्चिम क्षेत्रका बासिन्दाले बर्खायाममा निकै समस्या झेल्नुपरेको छ ।

Leave a Reply