---Advertisement---

सफल महिला उद्यमी सावित्री खत्री, च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

On: August 10, 2024 4:17 PM
Follow Us:

पर्वतको जलजला गाउँपालिका-८,फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ। कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि ब्यवसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी ६ लाखभन्दा बढीको च्याउ बिक्री गर्नुहुन्छ ।

तीन वटा टनेलमा कन्ये, गोब्रे च्याउखेती उत्पादन गरी बागलुङ, म्याग्दी र पर्वतको कुस्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाई छ । ‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु,उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन’ कृषक खत्रीले भन्नुभयो ।

Adv

 

गोब्रे च्याउको प्रति केजी ५ सय र कन्येलाई २ सयमा बिक्री गर्ने कृषक खत्रीले गोब्रे च्याउबाट साढे ४ लाख, कन्य च्याउबाट डेढ लाख आम्दानी भएको बताउनुभयो । कच्चा पदार्थ सहितका साम्रागी समेत तयार गर्ने गर्नुभएकी कृषक खत्रीले ७ रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारी ४ लाखको बिक्री गर्नुहुन्छ।

‘हाइटेक टनेल थपेर बाह्ै महिना च्याउ खेती गर्ने लक्ष्य छ,च्याउखेतीका लागि गाउँका कृषकलाई पनि सीप हस्तान्तरण गर्ने गरेको छु’ कृषक खत्रीले भन्नुभयो ।

सामाजिक एवम् राजनीतिक रुपमा समेत सक्रिय रहनुभएकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई थप विस्तार गर्ने योजना रहेको खत्रीको भनाई छ ।

बैदेशिक रोजगारीबाट फर्किनुभएका श्रीमान भिमबहादुर केसीले समेत च्याउ र अन्य तरकारी खेतीको उत्पादन र बजारीकरणमा समेत सघाइरहनुभएको छ । ‘अब बैदेशिक रोजगारीमा जाने सोच छैन, तरकारी खेतीलाई नै विस्तार गर्छु’ भिमबहादुरले भन्नुभयो।

खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो हुने भएकाले अबको सिजनमा टनेल समेत थपेर च्याउ खेती र खेतबारीमा मौसमी र बेमौसमी तरकारी खेतीलाई विस्तार गर्ने योजना रहेको केसीको भनाई छ ।

च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो। च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरु पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरुका लागि अति उपयोगी छ।

च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ। च्याउ क्यान्सर, मुटुरोगजस्ता रोगहरू लाग्नबाट बचाउँछ। रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ।

Adv

नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुगरआदिको नियन्त्रण गर्न मद्दत पुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ।

यता गाउँपालिकाले कृषि र पशुपालनमा सक्रिय भएका कृषकलाई अनुदान सहित सीप हस्तान्तरणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले उत्पादनमा आधारित भएर अनुदान तथा तरकारी खेतीमा लागेकालाई विभिन्न सहयोग गर्ने गरेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।