---Advertisement---

दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम

On: August 10, 2024 9:41 PM
Follow Us:

‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिवार देखि म्याग्दीको सदरमुकाम बेनीमा दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा संघको सभाहलमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै बेनी नगरपालिका–८ बेनीका वडा अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यले दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम लिएर व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभयो। उहाँले दुनाटपरी र बाटेको धुप स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक रहेको बताउँदै अहिलेको अवस्थामा दुनाटपरी तथा बाटेको धुपलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम पुरानो कला र संस्कृतिसँग पनि जोडिएको बताउँदै आधुनिक धुप अगरबत्तीलगायत धुपहरुको तुलनामा धेरै स्वास्थ्यबद्र्धक रहेकोमा जोड दिनुभयो । उहाँले दुनाटपरी र बाटेको धुप उत्पादन गर्नसके बजारको समस्या नभएको बताउँदै महिला उद्यमीहरुले उत्पादन गरेको दुनाटपरी र बाटेको धुप म्याग्दी उद्योग वाणिज्य संघले बजारीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले महिलाहरुलाई सिपमूलक तालिममार्फत पेशा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिमको उद्घाटनसत्रमा महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ र सञ्चारिका समूह नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष देवी जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिमको उद्घाटनसत्र महिला उद्यम विकास समितिका सभापति श्रेष्ठले अध्यक्षता र स्वागत, महासचिव प्रमिला जोशी श्रेष्ठले सञ्चालन र वरिष्ठ उपाध्यक्ष विष्णु गुरुङले समापन गर्नुभएको थियो ।

दुई दिनसम्म चल्ने तालिममा आयोजक महिला उद्यम विकास समितिका पदाधिकारी तथा सदस्य, महिला सहकारीका प्रतिनिधि र महिला लायन्स क्लबहरुका प्रतिनिधिसहित कुल ३० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिमको महिला उद्यमी एवं प्रशिक्षकहरु पदमकुमारी श्रेष्ठ, कमला गिरी, सृजना श्रेष्ठ र गीता रिजाल शर्माले सहजीकरण गरिरहनुभएको छ । महिला उद्यम विकास समितिले गतवर्ष माघेसङ्क्रान्ति पर्वको अवसरमा आयोजना गरेको मेलाबाट बचेको रकमले महिलालक्षित सिपमूलक तालिम आयोजना गरेको जनाएको छ ।