पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘चेसिङ दी ड्रिम’ भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ। सो फिल्म फेस्टिवल हिमाञ्चल प्रदेशमा अगस्ट १४ देखि १६ सम्म तीन दिनको हुनेछ।

यसपालि हुन लागेको फिल्म फेस्टिवलको १० औं संस्करण हो। यस संस्करणमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, इजिप्टलगायत दर्जनौं देशका एक सय २३ देशबाट फिल्म, डकुमेन्ट्री तथा सर्ट फिल्म छनोट भएको फेस्टिवलले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

प्रदीपको यस डकुमेन्ट्रीमा लामो समय विदेशमा बसेर गाउँ फर्केका लाक्पा ढन्डुल लामाको कथा समेटिएको छ। उत्तरी गोरखाको चुमनुप्री गाउँपालिकाको नामरुङ गाउँका लाक्पा सानै उमेरमा अवरसरको खोजीमा काठमाडौँ आएका थिए।

केही वर्ष काठमाडौँमा बसेर उनी समुद्रपार व्यापारको सिलसिलामा सिंगापुर पुगे। झण्डै १७ वर्ष त्यही बिताए। सिंगापुरलाई आधार बनाएर काम थालेका लाक्पालाई कामको सिलसिलामा ५० भन्दा बढी देशमा पुग्ने अवसर मिल्यो। केही नगद कमाए पनि।

डकुमेन्ट्रीमा देखाए अनुसार लाक्पा दुई दशकपछि गाउँ फर्कन्छन्। गाउँको दुःख देखेर उनी विदेश नफर्कने निष्कर्षमा पुग्छन्। २७ दिन लामो समय गाउँघरको अध्ययन भ्रमणमा बिताउँछन्। गाउँको दुरा अवस्था देखेर उनी बिदेश नजाने निष्कर्षमा पुग्छन्। गोरखाको उत्तरी क्षेत्रको पर्यटन विकासमा लाग्ने प्रण गर्छन्। मनास्लु क्षेत्रको पर्यटन प्रवर्द्धनमा लाग्छन्।

उनी बिदेशमा भएको बेला त्यस भेगको प्रसिद्ध तीर्थस्थल सेराङ गुम्बाका लामाको निधन भएको हुन्छ। लाक्पा फर्केको केही समयपछि लामा गुरु पुनःजन्म लिएर आफ्नै पुरानो गुम्बामा फर्कन्छन्। हजारौं गाउँले लामाको स्वागतमा सेराङ गुम्बा पुग्छन्। लामाको आगमनले गाउँमा उत्साह उमङ्ग दिन्छ। गुम्बामा पुगेर लामाको दर्शन गरेपछि लाक्पा पनि गाउँमै बसेर केही नयाँ काम गर्ने अठोट लिन्छन्। डकुमेन्ट्रीको कथा यसरी नै अगाडि बढ्छ।

लाक्पाले गाउँको संस्कार, संस्कृति संरक्षण अभियान चलाउँछन्। आफू जन्मेको गाउँमा हिमाली संग्राहलय निर्माणको थालनी गरेका छन्। यसका लागि हजारौं परम्परागत सामान संकलन गरेका छन्।

मौलिकता झल्कने गरी बनाइएको नुप्री फोर सिजन रिसोर्ट संचालनमा आएको छ। विश्वप्रख्यात मनास्लु पदमार्गमा (लार्के पास) को रुटमा पर्ने यो रिसोर्ट गोरखाको नमूना हो। यहाँ पुग्ने पाहुनाले हिमाली कला, सभ्याता, जीवनशैली र संस्कृतिको स्वाद चाख्न पाउँछन्।

हिमालयमा बढ्दो जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न तीन सय रोपनी जग्गामा स्याउका बिरुवा लगाएर वृक्षारोपण अभियान चलाएका छन्। गाउँलेलाई पनि स्याउ लगाउन प्रोत्साहन गर्छन्। अहिले नामरुङ गाउँमा स्याउ फल्न थालेको छ।

उनको स्याउबारी पर्यटकको आकर्षक गन्तव्य बनेको छ। यहाँ स्याउको ब्रान्डीदेखि विभिन्न परिकार उत्पादन हुन थालेको छ। दर्जनौं मानिसले रोजगारी पनि पाएका छन्। उनको यस वृक्षारोपण अभियानले उजाड बन्दै गएको गाउँमा हरियाली मात्र बनाएको छैन। गाउँमै बसेर नगद आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। चेसिङ दी ड्रिममा लाक्पाका यस्तै कथा समेटिएका छन्।

निर्देशक प्रदीपको इन्टरनेशनल फिल्म फेस्टिवलमा छनोट भएको यो १२ औं डकुमेन्ट्री हो। उनले निर्देशन गरेको पहिलो डकुमेन्ट्री इन गर्डस् हार्ट ल्याण्ड सन् २००९ मा काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिवल (किम्फ) मा वर्ल्ड प्रिमियर भएको थियो। सोही फेस्टिवलमा स्नो–लेपर्ड स्काउट २०१४ मा छनोट भएको थियो।

२०१५ मा उनको राइजिङ फर इपिसेन्टरले अवार्ड जितेको थियो। उनको अ सङ फर बारपाकले सन् २०१६ को इसिमोड वेस्ट माउन्टेन फिल्म अवार्ड हात पारेको थियो। सो डकुमेन्ट्री सन् २०१७ मा कोरियाको विश्वप्रसिद्ध डकुमेन्ट्री फिल्म फेस्टिवल डिएमजेड DMZ International Documentary Film Festival इन्टरनेशनल फिल्म फेस्टिवलमा छनोट भएको थियो। यस डकुमेन्ट्रीले बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिवलमा पनि बेस्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो।

सन् २०१८ मा पोस्ट अर्थक्विक रिविल्ट इन दी हिमालय पनि किम्फमा छनोट भएको थियो। २०२४ जववरीमा हिउँ चितुवा संरक्षणसम्बन्धी डकुमेन्ट्री स्नो लेपर्डले सौराहा साउथ एशिया फिल्म फेस्टिवलमा अवार्ड जितेको थियो। यसबाहेक उनका दर्जनौ फिल्म युरोप र एशियाका दर्जनौ फिल्म फेस्टिवलमा छनोट भएका छन्। उनका डकुमेन्ट्रीले दर्जनौं इन्टरनेशनल अवार्ड जितिसकेका छन्।

Leave a Reply