डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रको रुपमा चिनिएको पश्चिम म्याग्दीको मुख्य ग्रामीण बजार दरबाङ सडक र सुविधाहरुको विस्तार भएसँगै उज्यालिदै जान थालेको छ ।

म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जन बढी गाउँहरुको लागि व्यापार व्यावसायको प्रमुख बजार दरबाङमा बजार विस्तार हुने क्रम बढ्दै छ भने शिक्षा,स्वास्थ्य,सडक,खानेपानी,ढल निकास आदि सुविधाहरु पनि थपिदै गएपछि दरबाङको अनुहार उज्यालिदै जान थालेको हो ।

दरबाङ बजार पश्चिम म्याग्दीको प्रमुख र जिल्लाकै दोस्रो व्यापारिक केन्दहो । जिल्लाको दोस्रो सदरमुकामको नामले समेत चिनिने दरबाङ बजार सदरमुकाम बेनीदेखि २४ किलोमिटर दुरीमा रहेको छ ।

दरबाङ बजार क्षेत्रमा अहिले पालिका स्तरीय अस्पताल,निजी क्लिनिक, तीनओटा बोर्डिङ र एउटा दश जोड दुईको माध्यमिक विद्यालय, खानेपानी, संचार, ढल व्यवस्थापन हुनुको साथै दरबाङको बसपार्कदेखि उपल्लो दरबाङसम्मको सडक कालोपत्रे गरिएको छ । त्यसैगरी सडक विस्तारका लागि अतिक्रमण गरेर बनाइएका घर टहराहरु पन्छाउने र सडकको स्तरोन्नति गर्ने कामसमेत संचालन भइरहेको छ ।

Adv

धौलागिरी हिमालको प्रवेशद्वारसमेत रहेकोऐतिहासिक दरबाङ करिब पाँच दशक अघिसम्म मानव वस्तीको सुरुवाती चरणमा रहेजस्तो देखिन्थ्यो । यहाँका वासिन्दाहरु व्यापार व्यावसायमा कम र परम्परागत कृषिमा बढी महत्व दिन्थे । तर, अहिले समय फेरिएको छ । समयसँगै कोदो, मकै खेतीबाट जीवन गुजारा चलाउने दरबाङबासीको दैनिकी र जीवनस्तर पनि निकै ठूलो परिवर्तन भइसकेको छ । परम्परागत खेतीपाती होइन, व्यवसाय र आधुनिक जीवनशैली उनीहरूको दैनिकी बनेको छ ।

संघियता स्थापना पछिमालिका गाउँपालिकाको केन्द्र बनेसंगै दरबाङको स्वरुप फेरिन थालेको हो ।यहाँ पुराना घर भत्किदै नयाँ बन्ने क्रम र केही नयाँ, केही पुराना संरचनाले भरिभराउ दरबाङले काचुली फेर्दै गरेको देखिन्छ ।

पछिल्लो समय विकसित हुँदै गएको दरबाङ बजारमा बैंक तथा वित्तिय संस्थाहरु खुल्ने क्रम बढेको छ । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको बेनी-दरबाङ सडकको स्तरोन्नतिको काम भैरहेको छ । बेनी-दरबाङ सडक कालोपत्रे भएमा आवत जावत र ढुवानी सहज बन्नुका साथै म्याग्दीको पश्चिमी क्षेत्रको पूर्वाधार, आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । दश बर्षे शसस्त्र युद्धबाट प्रभावित चार जिल्लालाई समेटेर बनाएको गुरिल्ला पदमार्गको समेत प्रवेशद्वारसमेत दरबाङलाई मानिन्छ ।

युद्धको केन्द्रविन्दु मानिएको म्याग्दी, बागलुङ, रुकुम र रोल्पा जिल्लाका विभिन्न ग्रामिण बस्तीहरुलाई लक्षित गरी विस्तार गरिएको यो पदमार्ग प्रदेश नम्बर ४ र ५ को उत्कृष्ट पर्यटकीय गन्तब्यबन्ने प्रवल सम्भावना समेत रहेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक स्तर उकास्न र बिदेशी पर्यटकहरुलाई युद्धकालिन दिनचर्या, बिकट बस्तीको जनजीवन, मगर संस्कृतीको अनुभव दिलाउन तथा माओबादीको सेल्टरलाई आधार बनाई पदमार्गको नामाकरण गरिएको थियो ।

रुटका अधिकांश क्षेत्र युद्धकालीन समयमा माओबादीको सेल्टर मानिन्छन् । जिल्लाको मालिका गाउँपालिकाको दरवाङलाई प्रवेशद्धार मानिएको पदमार्गमा धवलागिरि गाउँपालिकाको धारापानी, ताकम, मुना, लम्सुङ, मरेनी, जलजला, पूर्वी रुकुमको लुकुम, उपल्लो शेरा,बागलुङको निश्यापिढारे, ढोरपाटन, रोल्पाको सुनिचौर, ज्यलबाङ्ग, ढवाङ्गलगाएतका क्षेत्र पदमार्ग भित्र पर्दछन् ।

सडकको कथा

विसं २०६३ सालमा ताराखेतबाट मोटरबाटो दरबाङ पुर्‍याइएको थियो । सडक निर्माण भएपछि पहिलेको तुलनामा अहिले यो ठाउँमा चमत्कारिक विकास भएको छ । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिलिपकुमार शेरचन हुनुहुन्थ्यो । ३० लाख रुपैयाँ बजेटमा उक्त सडक पुर्‍याइएको थियो । बि.सं.२०४० सालमा दरबाङमा करिब १५ घर परिवार मात्र बसोबास गर्दथे । सडक निर्माणमा शेरचनले व्यक्तिगत दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

सडक विस्तार नहुँदा दरबाङसहित जिल्लाका पश्चिम भेगका वासिन्दाहरु खच्चड र मान्छे मार्फत आवश्यक खाद्यान्न सामाग्री ढुवानी गर्दथे । “दुई दशक पहिले यहाँ केही घरहरु मात्र थिए । उतिखेर घोडा, खच्चड र मान्छे मार्फत सामान ढुवानी गरिन्थ्यो” शेरचनले भन्नुभयो,“अहिले त दरबाङमा गगनचुम्बी घरहरु बनेका छन् । गाउँ घरदैलोमै सडक पुगेका छन् ।”

सडक पुर्‍याउन तत्कालिनगाविस,तत्कालिन राज्य मन्त्रीस्व.नारायणसिङ पुन सहित शेरचनका दुई छोरा,काठमाडौं र पोखरामा रहेका म्याग्देली लगायतको सहयोग रहेको उहाँ बताउनुहुन्छ । तत्कालिन निस्कोट गाबिस,ओखरबोट गाबिस ,देविस्थान गाबिसले एक/एक लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए भने बिम गाविसले ६० हजार, दरबाङ गाबिसले ६० हजार, बाबियाचौर गाबिसले ५५ हजार, अर्मन गाबिसले ८० हजार र रुम गाबिसल ५९ हजार रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाको केन्द्र मात्र नभई व्यापारिक नाका भएकोले दरबाङ बजार व्यवस्थापनलाई दीगो बनाउन शहरी विकास योजना अनुसार डिपीआर बनाएर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शहरी विकास योजना अनुसार डिपिआर बनाउन आफूले पहल गर्नेसमेत जानकारी दिनुभयो ।

“दरबाङ बजार गाउँपालिकाको केन्द्र मात्र नभई जिल्लाको दोस्रो सदरमुकाम तथा व्यापारिक केन्द्र हो, बजार व्यवस्थापनलाई दिगो बनाउनखानेपानी योजना, सडक, फोहोर, बसपार्क, प्रशासनीक कार्यालय स्थापना, शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ ।” उहाँले भन्नुभयो ।

उहाँका अनुसार दरबाङ बजारमा उद्योगी र व्यवसायीहरुलाई टिकाउन स्टोर निर्माण र उद्योग ग्राम स्थापना गर्न आवश्यक छ ।दरबाङ बजारमा स्तरीय होटेल बनाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । उद्योगी व्यापारीविच एकता आवश्यक रहेको छ ।

दरबाङमा सडक स्तरोन्नति ,नियमित विद्युत आपुर्ति संगै खानेपानी आयोजनालाई समेत व्यवस्थित बनाउन आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्ष लेकबहादुर पुन बताउनुहुन्छ ।

दरबाङ साविक १७ गाविसको मुख्य व्यापारिक केन्द्र हो ।म्याग्दी नदीको कटान, अस्थायी सडक,विद्युत र खानेपानी आपुर्ति नियमित नहुँदा तथा यातायात अस्तव्यस्तताका कारण व्यवसायीहरुलाई असर परेको उहाँको भनाईछ ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्न यस क्षेत्रमा सञ्चार माध्यमको आवश्यक रहेको अध्यक्ष पुनले बताउनुभयो ।पर्यटन क्षेत्रको विकासको लागि गाउँपालिकाले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

दरबाङ हुँदै धौलागिरी, गुर्जा, चुरेनलगायत हिमाल आरोहणका लागि विदेशी पर्यटकीयहरु जाने गर्दछन् । दरबाङहुँदै म्याग्दी, बागलुङ र रुकुम जिल्लाको सिमानामा पर्ने नेपालको एक मात्र ढोरपाटन शिकार आरक्ष पुग्ने गरिन्छ । दरबाङहुँदै बागलुङको तमानखोला, ताराखोला समेत जान सकिन्छ ।

Leave a Reply