म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका रेशम बूढामगर हिजोआज जंगलमा गएर रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा रातो च्याउ पाइने सिजन सुरु भएपछि पश्चिम म्याग्दको मालिका गाउँपालिका २ रुमकी देविकला घर्ती लगायत उहाँका परिवारका सदस्यहरुको दिन पनि च्याउ खोज्न जंगलमा नै वित्ने गरेको छ ।
बूढामगर र घर्ती मात्रै होइन साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम,दिच्याम,मुना,मुदी,लुलाङ,गुर्जा,देविस्थान,विम लगाएतका गाउँका महिला र पुरुषहरु जंगली रातो च्याउ खोज्न जंगलमा जाने गरेका छन् ।
रातो च्याउको माग गाउँका होमस्टेदेखि सहरका तारे होटेल र विदेशमा समेत रहेकोले महंगोमा विक्री हुने गरेको छ । रातो च्याउको मूल्य यस वर्ष आलोमा प्रतिकिलो रु दुईहजार र सुकाएकोलाई रु पाँच हजारसम्म व्यापारीहरले निर्धारण गरेका छन् ।
म्याग्दीका धवलागिरि,मालिका,रघुगंगा र मंगला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्ने भएकाले यसको मूल्य निकै महङ्गो भएको रुमकी देविकला घर्तीले बताउनुभयो ।
प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीहरुमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरवास (होमस्टे)का सञ्चालक राधिका भण्डारीले बताउनुभयो ।
“घरवासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्” भण्डारीले भन्नुभयो “पाहुँनाले आफ्ना परिवारका सदस्यहरु रहेको युरोप अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”
गत सालसम्म प्रति किलो रु आठ सयदेखि रु एकहजार सम्ममा पाइने आलो रोतो च्याउको मूल्य यस वर्ष भने बढेर रु दुई हजार प्रतिकिलो पुगेको छ । सुकाएको रातो च्याउ रु चार हजार देखि पाँच हजार सम्ममा विक्रि हुने गरेको च्याउ व्यापारी जगमाया पुन मगरले बताउनुभयो । जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् ।
स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताउनुभयो । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको घर्तीको भनाइ रहेको छ । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।
गत वर्ष रुमबाट मात्रै नौ किलो सुकाएको रातो च्याउ विदेश पठाइएको घर्तीले जानकारी दिनुभयो । त्यसका साथै काठमाण्डौ,पोखरा,बेनी लगाएतका सहरमा गाउँबाट २५ किलो बढी च्याउ निर्यात गरिएको अनुमान छ ।
त्यसैगरी गाउँमा रहेका घरबासहरुमा पनि रातो च्याउ खोसाखोस हुने गरेको छ । दरबाङ बजारमा च्याउ लगिनसक्दै विक्री हुने गरेको व्यापारीहरु बताउँछन् । “जंगली रातो च्याउको माग उच्च छ,जति भए पनि विक्री हुन्छ तर हिजोआज जंगलमा रातो च्याउ पनि पहिलाको जस्तो पाइन छोडेको छ ” देविस्थानका बीरबहादुर सिउथानी मगरले बताउनुभयो ।
रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताउनुभयो । उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेली पठाउने गरेको जानकारी दिनुभयो ।
गत वर्ष रुमबाट रु पाँच लाखको जंगली च्याउ विक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताउनुभयो । त्यसैगरी देविस्थानबाट जंगली रातो च्याउ संकलन गरी विक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुईलाखसम्म आम्दानी हुने गरेको छ ।
व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ ।”यहाँको रातो च्याउ युरोप,अमेरिका लगाएतका देशहरुमा समेत पठाउन थालिए पछि आम्दानीको बलियो स्रोत वन्दै गएको स्थानीयले बताएका छन् ।