एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनका कुल ६ वटा फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक भएका छन्।

इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तान अरूणा शाहीसहित नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ६ सदस्यलाई मार्की खेलाडी तोकेको हो । नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइज लिग इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुँदै छ।

कप्तान तथा सेटर अरूणा शाही चितवन र स्पाइकर सरस्वती चौधरी गण्डकीका मार्की खेलाडी भएका छन्। अर्की स्पाइकर उषा भण्डारीलाई काठमाडौंले आफ्नो मार्की खेलाडी घोषणा गरेको छ। पछिल्लो समय सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेल्दै आएकी स्पाइकर निरुता ठगुन्ना मधेसको मार्की खेलाडी बनेकी छन्।

टिम कर्णालीले आफ्नो मार्की खेलाडीमा मिडल ब्लकर सुमित्रा रेग्मीलाई रोजेको छ। उनले गत हप्ता मात्र सम्पन्न काभा महिला भलिबल नेसन्स लिगबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। टिम ललितपुरको मार्की खेलाडी लिबेरो सलिना श्रेष्ठ चयन भएकी छन्।

मार्की खेलाडीले टोली निर्माणमा भूमिका खेल्नेछन्। आयोजकले काभा महिला भलिबल नेसन्स लिग सकिएको भोलिपल्टै नै फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो। काभा महिला भलिबलमा नेपाल उपविजेता बनेको थियो। फाइनलमा भारतसँग ३–२ ले पराजित भएपछि नेपाल पाँच वर्षपछि पनि उपविजेतामा सीमित भएको हो।

नेपालमा भलिबल खेल विकासका लागि पुरुष र महिला दुवैतर्फ फ्रेन्चाइज  लिग हुँदै छ । नेपाल भलिबल संघले यसअघि नै पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि सम्झौता गरिसकेको छ । महिला भलिबलको भने गत बिहीबार पत्रकार सम्मेलनमार्फत् फ्रेन्चाइज टोली सार्वजनिक भएको हो।

पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन्। काठमाडौंको प्रवर्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवर्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमाल र विरोचन खनाल छन्।

रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस छ । गण्डकीको प्रवर्धक सौरभ केडिया र टिम चितवनको प्रवर्धक निम्बस होल्डिङ हुन्। प्रतीक अधिकारी र राजेश बगडियाले टिम कर्णालीको प्रवर्धन गर्ने भएका छन् ।

खेलडीको क्याटागोरी विभाजनग गर पारिश्रमिक दिइनेछ। क्याटागोरी ‘ए’ का खेलाडीले एक लाख ५० हजार, ‘बी’ का खेलाडीले एक लाख र ‘सी’ का ले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। इन्फिनिटीका संस्थापक आमिर अख्तरले टर्की, रसिया, ब्राजिल, कजाखस्तान, जर्मनी र अस्ट्रेलिया र भारत गरी करिब १८/२० वटा देशबाट राम्रा खेलाडी फ्रेन्चाइज टोलीमा समावेश गर्ने योजना रहेको उल्लेख गरेकाका थिए ।   nagariknews.com

Leave a Reply