तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान नजिकै पर्ने पुराण प्रशिद्ध ऋषिहरु पुलस्त्य र पुलहको तपोभूमी पुलापछैमा रहेका पाँच सय वर्ष पुराना मल्लकालीन सम्पदाहरु संरक्षणको अभावमा नासिँदै जान थालेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलापछैमा रहेको तत्कालीन पर्वतेराजा डिम्बबम मल्ल र उनका शाखा सन्तानहरुले पानी खाने गरेको पाँच सय वर्ष पुरानो कुवा संरक्षणको अभावमा अलपत्र परेका छन् ।

करिब पाँचसय वर्ष पहिले पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामग्रीहरू रहेका भएपनि पहिचान र संरक्षणको अभावमा अलपत्र परेका स्थानीय बुद्धिजीवि शिव बानियाँले बताउनुभयो । पुलापछैमा रहेको ऐतिहासिक कुवा माथिबाट खनिएको मोटरबाटोका कारण कुवा सुकेर खण्डहरमा परिणत भएको छ ।

त्यतिबेलाका पर्वते प्रतापि राजा डिम्वम मल्ल (उनलाई दिलिपबम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकोले यस ठाउँमा बसुञ्जेलसम्म त्यही कुवाको पानी र ओखलमा धान कुट्न लगाएर दरबारका सदस्यहरूले भात खाने गरेका प्रमाणहरू भेटिएका स्थानीय यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

वि.सं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासमा उल्लेख छ । ‘कहिले राजा बेनी बाग्लुङ्ग, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताउनुभयो ।

राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै अपार पर्यटकीय सम्भावना बोकेको यस क्षेत्र बाहिर जति चर्चामा आएपनि म्याग्देलीहरूका लागि भने ‘कागलाई बेल पाक्यो, न हर्ष न विस्मात’ भने झैं भएको उहाँको भनाइरहेको छ ।

१४औं शताब्दिताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्वम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केहीमाथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने बेनी नगरपालिका वडा नं ५ का वडाअध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

यो क्षेत्र ऐतिहासिक रुपमा मात्रै होइन जैविक, धार्मिक र प्राकृतिक रुपमा पनि महत्वपूर्ण क्षेत्र रहेकोले यसको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारबाट समेत पहल भइरहेको उहाँको भनाइ छ ।

Leave a Reply