म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ । करिब १ सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनर्निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । २ लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनर्निर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।​

अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा ५ लाख विनियोजन भएको छ । मन्दिर परिसर घेरबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान रामको मूर्ति राखिसकिएको छ । घेरबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताइन् । रासस

Leave a Reply