यूकेमा बसोबास गर्ने पर्वतेलीहरूको साझा संस्था पर्वत समाज युकेले डेढ सय विपन्न तथा जेहान्दार बालबालिकाहरुलाई शैक्षिक साम्रागी सहयोग गरेको छ ।

पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र विहादी गाउँपालिकाका विद्यालयका ११५ जना आर्थिक अवस्था अत्यन्त कमजोर तथा जेहान्दार विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत समाज यूकेका भुपु अध्यक्ष दधी आचार्यले बताए ।

‘विद्यालयले छनौट गरेका विद्यार्थीलाई वितरण गरिएको हो, हामीले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिनेछौ’ आचार्यले भने । सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष परबिन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

सहयोग हस्तान्तरणमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोगले पठनपाठनमा सहज हुने बताइएको थियो । पर्वत समाज यूकेका पूर्व अध्यक्ष आचार्यले ब्यापार, रोजगारी र विभिन्न पेशाका क्रममा यूकेमा रहेका पर्वतबासीले जन्मभूमीमा आवश्यकता परेका क्षेत्रमा सहयोग गरिरहेको बताए ।

पर्वत समाज यूकेका पूर्व अध्यक्ष आचार्यले सन् २००३ मा स्थापना भएको संस्थामार्फत दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोष सहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापित लगायत विभिन्न क्षेत्रमा सहयोग गरेको समाजकी अध्यक्ष अप्सरा गुरुङको भनाई छ । पर्वत समाज यूकेले पर्वतको शिक्षाका लागि गत असारमा आयोजना गरेको च्यारिटी कार्यक्रममा करिब २० लाख संकलन गरेको थियो ।

Leave a Reply