लमजुङको बेंसीसहर नगरपालिका-११, चिती बगैँचामा एक वृद्धाको हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

६२ वर्षीया सानु नानी घर्तीको हत्यामा संलग्न भएकाे अभियोगमा प्रहरीले सोही वडाको बजरखुट्टा बस्ने ४७ वर्षीय सुग्गरे सार्कीलाई नियन्त्रणमा लिएको हो।

साउन ३० गते बुधबार बिहान करिब साढे ८ बजेतिर आफ्नै घरको आँगनमा घर्तीको  शव फेला परेको थियो। घटनाबारे थाहा पाउने बित्तिकै स्थानीयले प्रहरीमा खबर गरेका थिए।

लगतै प्रहरी चौकी चिति र जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत मगाइएको थियो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईका अनुसार विशेष सूचनाको आधारमा फरार प्रतिवादी ४७ वर्षीय सुग्गरे सार्कीलाई विशेष अपरेसनमार्फत सुन्दरबजार नगरपालिका वडा नं-६ खत्रीठाँटिबाट सोही दिन पक्राउ गरि आज बिहीबार सार्वजनिक गरिएकाे छ।

प्रहरीको अनुसन्धानबाट खुल्न आए अनुसार सार्कीले साउन २९ गते बेलुका ८:३० बजे सापट पैसा माग्न घर्तीको घरमा पुगेका थिए। तर, पैसा सापट दिन घर्तीले इन्कार गरेपछि, उनले घर्तीको टाउको र गालामा खुर्पाले आक्रमण गरेको स्वीकार गरेका छन्।

सार्कीलाई जिल्ला अदालत लमजुङबाट ज्यान सम्बन्धी कसुरमा दिन सातको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चपाईले बताए।

Leave a Reply