विश्वकै चर्चित ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले उत्तरी म्याग्दी र मुस्ताङको भ्रमण गरेका छन् । बेनी–जोमसोम सडकखण्ड हुदै मुस्ताङ पुगेर फर्किएका छन् ।

भारत हुदै मोटरसाइकलमै प्रवेश गरेका ब्लगर जोडीले मुस्ताङका विभिन्न क्षेत्रका साथै रुप्से झरना, तातोपानी कुण्ड लगायत सडकखण्डमा देखिएका झरनाहरुको दृष्य लिएका थिए ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित होटल नेचुरल स्प्रिङमा बसेका जोडीले प्राकृतिक सौन्दर्यताले मन लोभ्याएको बताउँदै अर्कोपटक धेरै समयका लागि घुम्न आउने बताएको होटलका सञ्चालक सम्राट हमालले बेनीअनलाइनलाई बताए ।

‘धेरै खुसी लागेको छ, अहिलेको यात्रा छोटो भएपनि अविस्मरणीय भयो, अब धेरै समय विताउने गरी आउनेछौ, मान्छेहरुले हामीलाई चिनेर निकै खुसी भए, हामीले यो यात्रालाई जीवनभर सम्झन्छौ’ फर्नान्डा र भिसेन्टेसँगको कुराकानीपछि होटल ब्यवसायी हमालले भने । उनले विश्वभर चर्चित रहेको फर्नान्डा र भिसेन्टेलाई होटलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । पर्यटकीय क्षेत्रमा विश्वका प्रख्यात ब्लगरहरुको आगमनले पर्यटकीय क्षेत्रको प्रचार,पर्यटक बढाउन सघाउने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले मिडियासँगै विदेशीले फेसबुक, युट्युब, इन्स्टाग्रामबाट प्रचार–प्रसार तथा नयाँ र÷नयाँ गन्तव्य सहजै घुम्न, पुग्नसकिने स्थानका तस्विर तथा भिडियोहरु पोस्टहरुले सघाउन आगामी दिनमा संघमार्फत कार्यक्रमहरुमा समेत सघाउने बताए ।

ब्लगर जोडी भारतबाट छुट्टाछुट्टै मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा झारखण्डको दुम्का जिल्लामा रातको समयमा अस्थायी टेन्टमा फर्नान्डालाई सात पुरुषले कुटपिट र सामूहिक बलात्कार गरेको र भिसेन्टेलाई पनि हेल्मेट र ढुङ्गा प्रयोग गरी घाइते बनाएपछि विश्वभर भारतको आलोचना भएको थियो ।

उनीहरु घाईते भएको तस्वीर सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित तथा प्रशारण गरेका थिए भने भारतीय प्रहरीले समेत घटनामा संलग्नलाई खोजीखोजी नियन्त्रणमा लिएको थियो । विश्वका ६७ मुलुकको भ्रमण गरिसकेकी सुन्दरी फर्नान्डा ब्राजिलकी निकै प्रख्यात ब्लगर हुन् । उनी मोटरसाइकल यात्रा गर्दै विश्वका १९६ मुलुक पुग्ने अभियानअन्तर्गत नेपाल आएको बताइएको छ । उनीहरुको सामाजिक सञ्जाल र यूटुवमा लाखौं फलोअर्स रहेका छन् ।

Leave a Reply