गएको आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दी जिल्लामा १ सयभन्दा बढी विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । गतवर्ष १ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा विभिन्न शीर्षकमा गरेर कुल १ सय ८ वटा मुद्दा दर्ता भएको हुन् ।

कार्यालयमा दर्ता भएकामध्ये गतवर्ष विभिन्न ४५ वटा मुद्दाहरु फस्र्यौट अर्थात् कार्यान्वयन भैसकेका छन्भने ६३ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष ०७९÷८० मा कुल १ सय ४४ वटा मुद्दा दर्ता भएकोमा आव ०७८÷७९ मा भने कुल १ सय १४ वटा मात्रै मुद्दा दर्ता भएका थिए । अघिल्लो आवको तुलनामा भन्दा गतवर्ष मुद्दा दर्ता संख्या कम रहेको प्रहरीको भनाइ छ ।

प्रहरी कार्यालयमा दर्ता हुन आएका मुद्दातर्फ कर्तव्य ज्यानसम्बन्धी विभिन्न ५ वटा मुद्दा दर्ता भएका छन्भने ज्यान मार्ने उद्योगका ३ वटा मुद्दा दर्ता भएका थिए । यसैगरी गतवर्ष भवितव्य ज्यानतर्फ १५, फुटकर ज्यान ६, गौबध अर्थात् पशुपक्षी सम्बन्धी कसुर र उद्योगका १, आत्महत्या दुरुत्साहन गर्न नहुने १, विष खाएर २, झुण्डीएर १९, साधारण चोरी १, लागूऔषध ५, हातहतियार खरखजाना ४, बहुविवाह २, जबरजस्ती करणी ६, जबरजस्ती करणी उद्योग २, सवारी ज्यान ९ र बैङ्किङ कसुरका १२ वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै बालयौन दुरुपयोग सम्बन्धी मुद्दाहरु ३ वटा दर्ता भएकोमा अभद्र व्यवहार गरेको सम्बन्धमा १० वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । व्यक्ति वेपत्ता पार्न नहुनेतर्फ १ र आपराधिक विश्वासघातको १ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै झुण्डीएर आत्महत्या गरेका धेरै छन् । झुण्डीएर आत्महत्या गरेको सम्बन्धी मुद्दाहरु अघिल्ला दुई वर्षको तुलनामा भन्दा गतवर्ष कमी आएको देखिन्छ । त्यसैगरी भवितव्य ज्यान सम्बन्धी, बैङ्किङ कसुर तथा अभद्र व्यवहार लगायतका शीर्षकमा पनि मुद्दा दर्ताको संख्या बढ्दै गैरहेको तथ्याङ्क रहेको छ ।

Leave a Reply