म्याग्दी बहुमुखी क्याम्पसमा आजदेखि दुई दिने उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी सुरू भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा आयोजित गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्लेले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि काफ्लेले विश्वभर उच्च शिक्षा छनौटमैत्री कि जनमैत्री भन्ने बहस रहेको बताउँदै नेपालले उच्च शिक्षा छानिएकालाई नभई सबैको पहुँचमा हुनुपर्नेमा आफ्नो धारणा राख्दै आएको बताउनुभयो ।

गोष्ठीमा पिएन क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुनले शैक्षिक गुणस्तरका लागि शिक्षक क्षमतावान हुनुपर्ने र विद्यार्थीलाई दोष दिएर शिक्षक पन्छिन नपाउने धारणा राख्नुभयो । उहाँले शिक्षकको क्षमताले नै विद्यार्थीको गुणस्तरमा सुधार हुने बताउनुभयो ।

गोष्ठीको उद्घाटन सत्रमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुबेदी, सञ्चालक समितिका सदस्य लगायत म्याग्दी, बागलुङ, पर्वतबाट सहभागिता रहेको थियो ।

क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले गर्नुभएको थियो ।

क्याम्पस प्रमुख श्रीधर सुबेदी, युजिसी नेपालका नारायण भण्डारी सहित प्राज्ञिक ब्यक्तिको सहभागिता रहेको गोष्ठीमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ।

गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा छलफल गदैं शनिबार अर्थात भदौ १ गते शनिबार सम्पन्न हुने छ ।

 

Leave a Reply