मल नहाल्ने र जैबिक मल मात्रै प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । जसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरी लगायतका समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए ।
घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टी र असिनाको क्षतिमा न्युनिकरण गर्न नसकेको हो । ‘असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भएपनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन’ पुन भन्छन्, ‘व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।’ केन्द्रकै तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटनसम्म आलु उत्पादन हुने गरेको हो ।
बागलुङमा हिउँदमा २३ हजार ९ सय मेट्रिकटन र वर्षातमा ११ हजार ६ सय ९४ मेट्रिकटन गरी ३५ हजार मेट्रिकटन आलु बजारमा आउने गरेको हो । त्यस बाहेक घर घरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन । यो वर्ष खडेरी धेरै परेको र बैसाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकोले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको ९ महिनासम्म थेग्ने गरेपनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारन क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।