---Advertisement---

म्याग्दीका उद्योगी, व्यवसायीलाई नेतृत्व र व्यक्तित्व विकास तालिम

On: August 24, 2024 11:43 AM
Follow Us:

म्याग्दीमा पेशा तथा व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी, व्यवसायीहरुलाई लक्षित गरेर नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी तालिम सुरु भएको छ । ‘विकासको आधारः उद्योग र व्यापार’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले तालिमले मानिसको व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले अहिले एमाले–कांग्रेस गठबन्धनको दुई तिहाई सरकार बनेको भए पनि गण्डकी प्रदेशमा ठूला दलको खिचातानीले गर्दा अहिलेसम्म सरकार विस्तार नभएको भन्दै आफूहरुले वर्षाको समयमा परेको असर तथा जनताको पिरमर्का बारेमा प्रदेश सभामा आवाज उठाउन नपाएको गुनासो गर्नुभयो ।

प्रदेश सदस्य भण्डारीले म्याग्दी जिल्लालाई पर्यटन र जलविद्युतको विकास गरेर अगाडि बढाउन सकिने प्रशस्तै सम्भावनाहरु रहेको बताउँदै स्रोतसाधनको परिचालन गरी स्वदेशमै रोजगारी सिर्जना गरेर विदेश पलायन रोक्नुपर्ने बताउनुभयो । उहाँले जलविद्युतको विकासमा म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिका पछाडि परेको हुँदा जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धन गरी पर्यटकलाई बेनीमा बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक एवं अस्टेलियाका लागि नेपालका पूर्वराजदूत तथा नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष महेशराज दाहालले मानव पुँजीको विकास नै संसारको विकास भएको बताउनुभयो । उहाँले संसारमा व्यस्त मानिस नै फूर्सदिला हुने र अस्तव्यस्त मानिस व्यस्त हुने भन्दै तालिमका सहभागीहरुलाई भरपुर रुपमा समयको सदुपयोग गर्न सुझाव दिनुभयो । सरकारले तीनखम्बे अर्थनीतिअनुसार देशको विकास गर्न सरकारी, निजी क्षेत्र र सहकारीलाई अगाडि सारेको बताउँदै उद्योग वाणिज्य संघले सञ्चालन गरेको व्यक्तित्व एवं नेतृत्व विकास तालिम मानव पुँजीको विकासका लागि सहयोगी बन्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले निजी क्षेत्रको आयोजनामा सञ्चालित तालिम अत्यन्त सराह्रनीय रहेकाले तालिममा प्राप्त ज्ञान, सिपलाई दैनिक जीवनमा उपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वागतसहित तालिमको उदेश्यमाथि प्रकाश पार्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संघले बनाएको कार्ययोजनाअनुसार तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संघले यसअघि गलेश्वरमा स्व–मूल्याङ्कन तालिमको आयोजना, कालीपुलमा पर्यटक सूचना केन्द्र र कोसेली घर सञ्चालन तथा महिला उद्यमीहरुका लागि सिपमूलक तालिम आयोजना गरिसकिएको बताउनुभयो ।

तालिमको उद्घाटनसत्र संघका प्रथम उपाध्यक्ष लिलाराम गौतमको धन्यवाद मन्तव्य र महासचिव नारायण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक दाहालले व्यक्तित्व, नेतृत्व र निजी क्षेत्रले गर्न सक्ने कामलगायत विषयहरुमा सहजीकरण गरिरहनुभएको छ । तालिममा म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति, वस्तुगत संघ र जिल्लाको पालिकाहरुमा रहेका संघका बजार इकाइबाट पदाधिकारी तथा सदस्यहरुले सहभागिता जनाएका छन् ।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।