Tuesday, September 17, 2024
20.2 C
Beni
20.2 C
Beni
Tuesday, September 17, 2024
Home स्थानिय समाचार मुस्ताङ समाचार सेवाग्राही पर्यटकका लागि प्रभावकारी सेवा दिनुपर्छ- मुख्यमन्त्री पाण्डे

सेवाग्राही पर्यटकका लागि प्रभावकारी सेवा दिनुपर्छ- मुख्यमन्त्री पाण्डे

0

हिमालपारीको जिल्ला मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथमा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ।

सो भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डले उक्त कार्यालयको तीनतले भवन, व्यारेक भवन तथा भान्साकोठाको समेत उद्घाटन गर्नुभएको थियो ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित कुल तीन करोड ६० लाख ५२ हजार ८८ रुपैयाँको आर्थिक सहयोगमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवनसहित अन्य संरचनाहरुको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना १ दामको जग्गामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन बनाइएको मुस्ताङका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

भवनको उद्घाटन गर्र्दै मुख्यमन्त्री पाण्डेले प्रहरीको आवास सुविधा वृद्धिका साथै अन्य सेवासुविधाहरु उपलब्ध गराउन गण्डकी प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नका लागि आउने भक्तजन, पर्यटक र स्थानीयवासीको समेत शान्ति सुरक्षामा नयाँ भवनबाट सेवा प्रदान गर्न प्रहरीलाई सहज हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मन्तव्य व्यक्त गर्दै नवनिर्मित भवनबाट प्रभावकारी रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्मित भवन परिसरमा प्रहरीका लागि कार्यालय, व्यारेक भवन, भान्साघर तथा शौचालय समेत निर्माण गरिएको छ । निर्माण व्यवसायी अमित बिल्डर्स प्रालि थासाङ ३ मुस्ताङ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबीच इलाका प्रहरी कार्यालयको भवन निर्माण गर्न वि.सं. २०७७ साल चैत २५ गते ठेक्का सम्झौता भएको थियो । कार्यालय तथा व्यारेक भवनको भुइँ तलामा कार्यालय प्रयोजनको ५ वटा कोठा, शौचालय तथा महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको छ ।

यसैगरी, भवनको पहिलो तलामा महिला प्रहरीको शौचालय र भर्‍याङ प्रयोग गर्न मिल्ने गरी महिलामैत्री व्यारेक तथा पुरुष जुनियर प्रहरी अधिकृत, हवल्दार र प्रहरी जवानका लागि व्यारेकको व्यवस्थापन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा इन्चार्जको आवास र सञ्चार शाखाको कार्यालय सञ्चालन गरिएको छ । नवनिर्मित कार्यालय तथा व्यारेक भवनको प्रवेश विन्दुमा र्‍याम्पको व्यवस्था गरी अपाङ्गमैत्री बनाइएको छ ।

नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र मुख्यमन्त्री पाण्डेले प्रहरीको भवन निर्माण तथा जग्गा प्राप्तिमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरु र प्रहरीलाई प्रशंसापत्रले सम्मान गर्नुभएको थियो । सोही अवसरमा मुख्यमन्त्री पाण्डे, प्रहरी नायव महानिरीक्षक सिंहसहितको टोलीबाट नवनिर्मित भवन र व्यारेकको अनुगमन समेत गरिएको थियो ।

आधुनिक सुविधासम्पन्न भवन अपाङ्गमैत्री र महिलामैत्री बनाइएको मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयले बताउनुभयो । समुन्द्री सतहदेखि झण्डै ३७ सय मिटरको उचाइमा रहेको इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनबाट कार्यसम्पादन सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply