सम्बन्धविच्छेदका लागि पत्नीहरु मात्र अदालत पुग्ने गरेकोमा मुलुकी देवानी संहिता लागु भएपछि पतिहरु पनि सम्बन्धविच्छेदका लागि अदालत पुग्न थालेका छन् । त्यसकारण पनि अदालतमा सम्बन्धविच्छेदका मुद्दाको संख्या बढेको हो ।

‘अदालतमा मुद्दा भनेकै सम्बन्धविच्छेद जस्तो भएको छ । दुनियाँवादी र सरकारवादी देवानीका विभिन्न मुद्दाका प्रकृतिमध्ये सम्बन्धविच्छेद, अंशबण्डा र लेनदेनबाहेक मुद्दा संख्या शुन्य छ,’ म्याग्दी अदालतका श्रेष्तेदार तथा सूचना अधिकारी भोलाराज रेग्मीले भने, ‘सम्बन्धविच्छेद गर्नेहरु प्राय: एक दिने (आज दिवेदन नियो, भोलिपल्ट मिलापत्र गरी सम्बन्धविच्छेद गर्‍यो) प्रकृतिका मुद्दा ९० प्रतिशत बढी छन् ।

श्रेष्तेदार रेग्मीका अनुसार सम्बन्धविच्छेद गर्ने भन्ने कुरा अति सामान्य बन्दै गएको छ । अदालतको अभिलेखअनुसार मुलुकी देवानी संहिता लागु हुनु अघिसम्म अधिकतम १ सय ७२ थानसम्म सम्बन्धविच्छेदका मुद्दा दायर हुन्थे । तर नयाँ मुलुकी ऐन लागु भएपछिका पाँच वर्षमा भने पहिलेको तुलनामा मुद्दाको संख्या दोब्बरले बढेको छ ।

संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका फिराद लिएर अदालत आउने पति (पुरुष)ले मुलुकी देवानी (संहिता) ऐनको धारा ९४ अनुसार ‘पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्षदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा, अङ्गभङ्ग गरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा’ पत्नीको मञ्जुरीविना सम्बन्धविच्छेद गर्न पाइने व्यवस्था गरेको छ

दर्ता भएका मुद्दाको फिरादमा केही पत्नीहरुले ‘पति घर नहुँदा परिवारले विभिन्न आरोप लगाएको र पतिले पनि अरुको कुरा सुनेर वास्तविकता नबुझी सम्बन्धविच्छेद मागेको’ प्रतिउत्तर लगाउने गरेको जिल्ला अदालतको मुद्दा दायरी शाखाकी डिठ्ठा अम्बिका शर्माले बताइन् । उनले भनिन्, ‘सम्बन्धविच्छेद माग्दै प्रायः सबै ‘पतिहरु’ले आफूले विदेशबाट पठाएको सम्पत्ति श्रीमतीले हिनामिना पारेको, ३ वर्षदेखि घर नबसेको र छोराछोरीको रेखदेख नगरेको’ साझा अभियोग लगाएका छन् ।’

त्यसैगरी मुलुकी देवानी (संहिता) ऐनको धारा ९५ मा ‘पतिले पत्नीको मञ्जुरी नलिई लगातार ३ वा बढी वर्षदेखि अलग बसेमा, पतिले पत्नीलाई खान लगाउन नदिएमा, अङ्गभङ्ग गरी कुटपिट गरेमा वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विहे गरेमा, पतिले अन्य महिलासँग यौन राखेको ठहरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा’ सम्बन्धविच्छेद गर्न पाइने व्यवस्था गरेको छ ।तथ्यांकले वर्षेनि सम्बन्धविच्छेदका घट्ना बढिरहेको देखिएको छ । सम्बन्धविच्छेद गराउनेमा १६–२७ वर्ष उमेर समूहका युवा/युवती बढी छन् ।  source: ekantipur.com

Leave a Reply