Oplus_131072


भदौ १५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर म्याग्दी सामुदायिक पुस्तकालयले कबिता प्रतियोेगिता आयोजना गरेको छ ।
म्याग्दी जिल्ला भित्रबाट विभिन्न विद्यालयका ११ जना प्रतिस्पर्धीले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयका टेनिस छन्त्यालले पहिलो स्थान हासिल गर्नुभयो । त्यस्तै लिटिल गार्डेन एकेडेमीका दिक्षा पौडेल दोश्रो, बेनी सामुदायिक माध्यमिक विद्यालयका अभिशेक पौडेल तेश्रो र न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालयका रिचा पौडेलले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।
विजेताहरुले पहिलो हुनेले नगद दुई हजार पाँच सय, दोश्रो हुनेले दुई हजार, तेश्रो हुनेले एक हजार पाँच सय र सान्त्वना स्थान हासिल गर्नेले पाँच सय रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको म्याग्दी सामुदायिक पुस्तकालयका सचिव नवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– विभिन्न विद्यालयबाट ११ जनाको सहभागिता रहेको उक्त प्रतियोगिता म्याग्दी सामुदायिक पुस्तकालयको सभाहलमा आयोजना गरिएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा पुस्तकालयका अध्यक्ष अम्बिकुमार श्रेष्ठले हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने सिलसिलामा आज यहाँ कबिता प्रतियोगिता गरेर मनाइएको बताउनुभयो । उहाँले नेपालमा औपचारिक रूपमा वि.सं. १८६९ भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै यो कार्यक्रम आयोजना गरिएको धारणा राख्नु भएको थियो ।
बेनी नगरपालिका–७ का वडा अध्यक्ष तथा बेनी नगरपालिकाका प्रवक्ता रमेश कुमार श्रेष्ठले पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई पुस्तकालय दिवसको रूपमा मनाउन सुरू गरिएको बताउनुभएको थियो । उहाँले नेपालमा संस्थागत रूपमा पुस्तकालय स्थापना भएको २०० वर्ष भन्दा लामो इतिहास पूरा भएको छ र पुस्तकालय दिवस मनाउन लागेको भने खासै धेरै नभएको उहाँको तर्क थियो ।
म्याग्दी पुस्तकालयका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले पुस्तकालय दिवस नारामा सीमित नगरी पाठक, विद्यार्थी, शिक्षक, लेखक लगायत आम नागरिकहरूले आदरपूर्वक सम्झने दिनको रुपमा स्थापित गराउँदै प्रचारप्रसार पनि गरीनु पर्ने तर्क गर्नुभयो । पुस्तकालय ज्ञानको भण्डार भएकोले पुस्तकालयबाट हामी हरेक किसिमको ज्ञान पाउन सक्ने भएकाले उचित ज्ञान लिँदै समाज परिवर्तनका लागि प्रयास गर्नु पर्ने उहाँको तर्क थियो ।

अम्बिककुमार श्रेष्ठको अध्यक्षता, नवराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा स्वागत सुमन पौडेलले गर्नुभएको थियो भने कार्यक्रमबारे प्रकाश रेखाकौशल रेग्मीले पार्नुभएको थियो ।

Leave a Reply