गत मंगलबारदेखि बागलुङमा हनुमान नाच सुरु भयो । करिब तीन सय वर्षअघिदेखिको परम्पराको निरन्तरताको खबर आफैंमा खुसीको कुरा हो। यसपटक चाहिँ नौ वर्षको अन्तरालपछि थालनी भएछ। यो नाच सामान्यतः बिजोड वर्ष अर्थात् ३, ५, ७ वा ९ वर्षको अन्तरालमा प्रदर्शन गर्ने गरिन्छ।

बागलुङको हनुमान नाच ‘सायद’ विश्वकै सबैभन्दा योजनाबद्ध, व्यवस्थित र उत्कृष्ट नाचहरूमध्ये पर्छ। यसमा अनेक ताल, भाव, लय छन् र वीर रस छ। यतिको संगठित, अनुशासित एवं रणनैतिक भावार्थले भरिपूर्ण नमुना कहींकतै बिरलै होला। यसको शृंगार विशेष छ, पूजाविधि अपार छ।

यो नाच पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको भन्ने गरिन्छ। त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाच संस्कृति पनि सँगै ल्याए र त्यहाँको लोकपरम्पराका रूपमा स्थापित गरे।

श्रीगणेश

भदौको पहिलो या दोस्रो मंगलबार पारेर स्थानीय नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ। सामान्यतः हरेक हप्ताको मंगलबार र शनिबार बजारमा नाच देखाइने गरिन्छ।

नाचमा चोखोनिष्ठ, शुद्धाशुद्धि र पवित्रताको निकै ख्याल गरिन्छ। सबै हनुमान, पुजारी, वादक समूह समितिले बनाएको आचारसंहिताअनुसार नियम र अनुशासनमा रहनुपर्छ।

तालहरू

हनुमान नाचको विशिष्टता भनेकै यसका विभिन्न संगीतमय तालहरू हुन्। मृदंगको आवाजअनुसार जतिपटक डन्डा ठोक्काइन्छ, त्यति ताल हुन्छ। मृदंग बज्दा ६ पटक डन्डा ठोकाइन्छ। यसलाई ६ ताल भनिन्छ।

पहिलो ताल ‘द्यो ह्ल्याय’बाट सुरु हुने यो नाचमा सलामी ताल, ६ ताल, आठ ताल, बाह्र ताल, सोह्र ताल, लंका घेरा हाल्ने ताल, भजन ताल (तुर्लिडछ्यासको ताल),  चौबीस ताल र प्रस्थानको ताल गरी जम्मा दश तालमा नाचिन्छ।

पूजाको प्रारम्भमा द्योःल्हाय (देवताको) ताल बजाइन्छ। यो सुरुवातीमा बजाइने द्यो ह्ल्याय ताल वीररसयुक्त हुन्छ। मृदंग र झ्यालीको संगीतसँगै झंकृत हुने यो तालबाट  शरीरको रोमरोममा कम्पन पैदा नहुने दर्शक को पो होला। जोकोही पुलकित हुन्छ,  उफ्रिन खोज्छ र आफूमा अद्भूत तरंग महसुस गर्छ। कतिपय हनुमान र दर्शकलाई वीर आउँछ। ती वीर आएको वा शक्ति उत्रेकाहरूलाई पुजारीले धूप सुँघाएर शान्त गराउने र सामान्य अवस्थामा फर्काउने गरिन्छ।

ऊबेला वीर आएका (देउता चढेका) हनुमानलाई जे कामका लागि आह्वान गर्‍यो, त्यो फत्ते गरिदिन्छन् भन्ने किंवदन्ती सुनिन्थ्यो। जस्तै ‘जय हनुमान! केराको घारी टिपी ल्याऊ’ भन्दा जहाँबाट भए पनि केरा टिपी ल्याउँथे रे। अथवा, महिनावारी भएका महिलाले झ्यालबाट हेरेका छन् भने शक्तिमा उत्रेका हनुमानले सो पत्ता पाएर डन्डाले झ्यालमै प्रहार गर्थे रे।

लंका प्रवेश गर्ने क्रममा हनुमानले समुद्रमा पुल हालेको ताल ‘तुर्लिडछ्यास’, त्यसैगरी लंकालाई घेर्ने रणनैतिक ताल, लडाइँ जितेर विजयोत्सव मनाएको ताल आदिको भावलाई नाचद्वारा प्रस्तुत गरिन्छ। यो नै यो नाचको विशिष्टता हो।

नाच

हनुमान नाच मंगलबार नारायणचोकमा नचरीको पूजा गर्दै नाचको सुरुवात गरिन्छ। नाचमा १३ जोडी कलाकारले हनुमानको रूप धारणा गरेर नाच्ने प्रस्तुति कलात्मक हुन्छ। पुच्छरसहित हनुमानको भेष पहिरेका हनुमान जोडीहरूले एकापसमा डन्डा जुझाउँदै मृदंग र झ्यालीको तालमा नाच्ने गर्छन्।

यो नाच ‘तुर्लिङचा तुर्लिङचा पाकुङ घिन्तिङ नाउ’ को तालमा हिँड्दै नाचिन्छ, सलामी दिँदै नाचिन्छ, अन्य विभिन्न तालमा स्फूर्तिका साथ नाचिन्छ।

करिब आठ महिना स्थानीय नारायणचोकको अखडाबाट सुरु भई जहाँ जहाँ पूजा दिइन्छ वा नाचका लागि आह्वान गरिन्छ, ती घर, चोकवासीहरू, आह्वान गर्ने समुदायबीच यो नाच देखाइने चलन छ। नाचको पूरा एपिसोड सम्पन्न गर्न चार–पाँच घन्टाभन्दा बढी नै लाग्छ। यति लामो र नियमबद्ध हुन्छ यो नाच।

नाचपछि वा पूजापछि प्रसाद बाँडिने गरिन्छ। त्यसमा प्रदान गरिने रोट वा मनभोगको स्वाद अद्यापि विशेष स्मरणमा छ।

हनुमान नृत्यको ऐतिहासिक प्रसार

यस नाचको उत्पत्तिस्थल भनिएको भक्तपुरमा मैले आज पर्यन्त यो विशेषता युक्त र पूर्णताको नमुना देख्न पाएको छैन। यद्यपि हनुमान नाचको त्यो प्राचीन संस्कृति बागलुङमा भने जीवित छ। त्यो समयको कृषि युगमा जुन बेला मनोरञ्जनका साधनहरू नगन्य हुन्थे, त्यतिखेर थुप्रै जनमानसको यो रमाउने  माध्यम बन्यो र धेरैको प्रिय बन्न पुग्यो।

त्यतिखेर नेपाल एकीकृत थिएन। बाइसे चौबिसे राज्यहरूमा विभक्त थियो। नेवारहरू आफ्नो थातथलो छोडेर पराइ राज्यमा शरणागतजस्तै भएर गएका थिए। त्यो अवस्थामा पनि उनीहरूले पुर्खाको कला, संस्कृति र संस्कारको संरक्षण र सम्वर्धन गर्दै यसको माध्यमबाट दूर भूगोलमा अवस्थित नयाँ ठाउँ, नयाँ भाषिक र सांस्कृतिक परिवेशमा घुलमिल हुने प्रयास गरे। साथै अन्य समुदायको मन जितेर आफ्नो पहिचान स्थापित गरे। यसले मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतामा जलप लगायो।

भौगोलिक विविधतायुक्त देश नेपालको लोकसंस्कृति र कलाहरूबीच एकताको सूत्रपातमा मलजल गर्‍यो। कलात्मकता र सांस्कृतिक विशेषताका कारण हनुमान नाच स्थानीयहरूबीच मात्र नभई  राष्ट्रव्यापी रूपमा नै लोकप्रिय हुने तर्खरमा छ। यो हाम्रो राष्ट्रिय सांस्कृतिक धरोहर र विशिष्ट पहिचान पनि हो। विश्वमाझ हामीले आफूलाई यस्तै संस्कृतिमार्फत चिनाउन सक्छौं।

यो नाचले संस्कृतिको प्रवर्धन मात्र नभई एक से एक प्रतिभाहरू, वादकहरू, संगठनकर्ताहरू, स्वयंसेवकहरू र हजारौं प्रशंसकहरू पनि जन्माएको छ। स्व. सनकप्रसाद श्रेष्ठ आफ्नो जमानाका नामुद वादक थिए। उनले बजाएको मृदंगको तालले जोकोहीको शरीरमा छुट्टै कम्पन पैदा हुन्थ्यो। त्यस्तै विख्यात झ्याली वादकहरू थिए। यो पनि छुट्टै उत्खननको विषय बन्नसक्छ।

लगातार घन्टौंघन्टा बडेमानका बाजाहरू बजाउन कम्ता मेहनत, धैर्य र पारंगतताले पुग्दैनथ्यो। तथापि संस्कृति, परम्पराप्रतिको अगाध आस्था र मोहले तिनमा त्यो क्षमता प्रदान गथ्र्यो होला।

हनुमान नाच विश्वका अन्वेषक, शोधकर्ता, अनुसन्धानकर्ताका लागि अध्ययनको र कौतूहलको विषय पनि बन्न सक्छ  र यसको गर्भमा विषयवस्तुको त्यो खजाना पनि छ।

बाह्य सांस्कृतिक प्रकोपले अतिक्रमण गरेको भनिएको हाम्रो मुलुक र समाजमा यस्ता मौलिक परम्परा र लोकसंस्कृतिको महत्त्व बढी छ।

हाम्रो बाल्यकाल हाम्रा पुर्खाहरूले जगेर्ना गरेको संस्कृतिमा रमाएर बित्यो। पुर्खाले छोडेको यो नासोलाई निरन्तरता दिँदै हामीले पनि भावी पुस्तालाई र तिनको बाल्यकाललाई आफ्नो मौलिक सांस्कृतिक माहोलमा रमाउने आँगन खडा गर्नुपर्छ। लोकसंस्कृति हामीलाई जोड्ने भावनात्मक एकताको प्रतीक हो।

Leave a Reply