म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवार बेपत्ता नागरिकहरुको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । बलपूर्वक व्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा द्वन्द्वपीडित तथा नागरिक अगुवाहरुले एक समारोहको आयोजना गरी दिप प्रज्ज्वलन गरेका हुन् ।

द्वन्द्वपीडित अधिकार महिला राष्ट्रिय सञ्जाल म्याग्दी, नागरिक आवाज, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) म्याग्दीको संयुक्त आयोजनामा बेनी नगरपालिकामा दिप प्रज्ज्वलन गरिएको आयोजकले जनाएका छन् । २०६० साल चैत ७ गते म्याग्दी आक्रमणमा दोहोरो भिडन्तले गोली लागेर छियाछिया बनेको बिजुलीको पोल अगाडि दिप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको अवसरमा मंगला गाउँपालिका–५, अर्मन, पोकका बेपत्ता पारिएका व्यक्ति खगेन्द्र बुढाथोकीका बुबा मनप्रसाद बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । बुढाथोकीलाई सम्मान गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले द्वन्द्वपीडितका परिवारलाई नगरपालिकाको तर्फदेखि आवश्यक सहयोग भैरहेको तथा आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । उहाँले बेपत्ता नागरिकहरुको हकमा राज्यको तर्फबाट धेरै कामहरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बेपत्ता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुमोदन गर, बलपूर्वक बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर, आत्मसम्मान सहितको परिपूरण सुनिश्चित गर, स्वतन्त्र र शक्तिशाली आयोग गठन गर भन्ने नाराहरु लेखिएको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । बेपत्ता पारिएका नागरिकको सम्झनामा आयोजित दिप प्रज्ज्वलन कार्यक्रममा मिलन म्याग्दी, संगम म्याग्दी, कदम म्याग्दीलगायत संघसंस्था र सुरक्षाकर्मीले सहभागिता जनाएका थिए । कार्यक्रम द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीका सचिव मिना कार्कीको अध्यक्षता र सञ्जालकी मनोविमशकर्ता लक्ष्मी विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीचि बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस–२०२४ को अवसर पारेर नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी दिवस मनाइएको छ । हरेक वर्ष अगस्ट ३० तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा १० वर्षे लामो सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही पक्ष माओवादीबाट ठूलो सङ्ख्यामा नागरिकहरु बेपत्ता पारिएको थियो ।
२०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता गरी दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गर्ने र परिवारलाई जानकारी गराउने भनिए पनि १९ वर्ष बितिसक्दा समेत त्यो काम अहिलेसम्म पूरा हुन सकेको छैन । द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि गठित आयोगमा दुई हजारभन्दा धेरै उजुरी र निवेदनहरु परेका छन् ।

शुक्रवार दिवस मनाइरहँदा सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाका आफन्तहरुले छिटोभन्दा छिटो सत्य पत्ता लगाइदिन आग्रह गरेका छन् । राज्यबाट पटकपटक पीडितहरूलाई झुक्याइएको उनीहरुको गुनासो छ । दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी)मा कतिपय प्रावधानहरु पीडितमैत्री नभएको पनि उनीहरु बताउँछन् । तर टिआरसी विधेयक पारित भएसँगै पीडितहरुमा न्यायको आशा भने पलाएको देखिन्छ ।

Leave a Reply