एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा खाद्यान्न बालीको उत्पादन बढ्दै जान थालेको छ ।

गएको आर्थिक वर्ष २०८०-०८१ मा अघिल्लो आव ०७९-८० को तुलनामा भन्दा खाद्यान्न बालीको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गतवर्ष जिल्लाभर उत्पादित कुल खाद्यान्न बालीअनुसार ५० हजार ७ सय ५९ दशमलव ४६ मेट्रिक टन उत्पादन भएको छ । कुल १८ हजार १ सय ६६ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको खाद्यान्न बालीबाट सो परिमाणको खाद्यान्न उत्पादन भएको थियो । जसमध्ये प्रति हेक्टर २ दशमलव ७९ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको वर्षमा ३८ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १२ हजार ९ सय ७८ मेट्रिक टन उत्पादन भई ३ दशमलव ४१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व भएको थियो ।

यसैगरी गतवर्ष नै ९ हजार २ सय हेक्टर जमिनमा मकै खेती लगाइएकोमा कुल २८ हजार ५ सय २० मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार मकै खेतीमा भने प्रति हेक्टर ३ दशमलव १० मेट्रिक टन उत्पादकत्व रहेको थियो ।

त्यस्तै गतवर्ष २३ सय १० हेक्टर क्षेत्रफलको जमिनमा गहुँ खेती गरिएकोमा ५ हजार ३ सय ३६ मेट्रिक टन उत्पादन भएको थियो भने २ दशमलव ३१ प्रति हेक्टर मेट्रिक टन उत्पादकत्व रहेको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो ।

म्याग्दीमा परम्परागत खाद्यान्न बाली अन्तर्गत कोदो खेती पनि हुँदै आएको छ । गतवर्ष जम्मा २४ सय ५० हेक्टर क्षेत्रफलमा कोदो खेती लगाइएको थियो भने यसबाट जिल्लाभर ३४ सय मेट्रिक टन उत्पादन भई प्रति हेक्टरमा १ दशमलव ३९ मेट्रिक टन उत्पादकत्व रहेको थियो ।

यस्तै परम्परागत बालीतर्फ नै गतवर्ष १ सय ५० हेक्टरको जमिनमा फापरको खेती गरिएको थियो भने यसबाट जम्मा १ सय ६५ मेट्रिक टन उत्पादन भयो ।

फापर खेतीमा भने १ दशमलव १० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व भएको तथ्याङ्कमा देखिन्छ ।

गतवर्ष २ सय ५० हेक्टरमा जौ लगाइएकोमा ३ सय ६० मेट्रिक टन उत्पादन भएको थियो भने प्रति हेक्टर १ दशमलव ४४ मेट्रिक टन उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताउनुभयो ।

अघिल्लो आवमा भने जिल्लाभर कुल ५० हजार ६ सय ७५ मेट्रिक टन खाद्यान्न बालीको उत्पादन भएको थियो । सो वर्ष कुल १८ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको थियो ।

यसवर्ष प्रति २ दशमलव ७१ मेट्रिक टन उत्पादकत्व रहेको थियो । गत र अघिल्लो आवको तुलनामा आर्थिक वर्ष ०७८-७९ मा भने जिल्लाभर कुल ५६ हजार ७३ दशमलव ५८ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष जिल्लामा १९ हजार २ सय ६० हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको थियो ।

खाद्यान्न बालीको उत्पादन घटबढ हुनुमा विशेष गरी मौसम प्रतिकुलताको कारण प्रत्यक्ष असर पर्ने देखिएको कृषि प्राविधिकहरू बताउँछन् ।

 

Leave a Reply