भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने चलन छ ।

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

बुवा नहुनेहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दान गर्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ ।

आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ । यसैगरी रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको भिड लागेको छ ।

आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व मनाउने चलन छ । वर्षभरि देवकार्य, पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश आजै वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ ।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

Leave a Reply