गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित ९ मन्त्रालयको जिम्मेवारीको टुंगो लागेको छ । केन्द्रमा कांग्रेस एमालेबीच सत्ता समिकरण भएको ठीक २ महिनापछि गण्डकीमा पनि दुई दलबीच गठबन्धन भएको हो । आजै एमालेले आफ्नो तर्फबाट ४ मन्त्रीको नाम बुझाएको थियो । ९ मन्त्रालय मध्ये मुख्यमन्त्रीसहित ५ कांग्रेस र ४ मन्त्रालय एमालेले लिने सहमति भए अनुसार मन्त्रालय बाँडफाँड गरिएको हो ।

जस अनुसार एमालेका प्रकाशबहादुर केसीलाई भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी एमाले नेता खगराज अधिकारी निकट भएकाले महत्वपूर्ण मन्त्रालयको जिम्मेबारीमा पुगेका हुन । यसैगरी पद्मा जिसी श्रेष्ठलाई कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृष्णप्रसाद पाठकलाई सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय टुक्राएर बनाइएको स्वास्थ्य मन्त्रालय र मित्रप्रसाद बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय तोकिएको छ ।

कांग्रेसका बिन्दुकुमार थापालाई सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय र टकराज गुरुङलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालय, नेसपा सांसद फणिन्द्र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा यथावत राखिएको छ ।
नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुखबाट दिउँसो साढे १ बजे सपथ खुवाउने तयारी गरिएको छ ।

Leave a Reply